मेलम्ची पानी प्रशोधन केन्द्रमा भट्टराईको शालिक शिलान्यास

काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईको जीवनशैली शिक्षाप्रद र प्रेरणाको स्रोत भएको बताउनु भएको छ ।
मेलम्चीको पानी प्रशोधन केन्द्र सुन्दरीजल क्षेत्रमा निर्माण हुन लागेको पूर्वप्रधानमन्त्री भट्टराईको पूर्णकदको शालिकको सोमबार शिलान्यास गर्दै मन्त्री चौधरीले खानेपानीको समस्यामा परेका काठमाडौँवासीलाई मेलम्चीको पानी ल्याउने सपना सरकारले पुरा गर्ने बताउनु भएको हो ।
खानेपानी मन्त्री चौधरीले २ पटकसम्म प्रधानमन्त्री हुनु भएका स्वर्गीय कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री निवासबाट आफ्नो सम्पत्तिको रुपमा टिनको बाकस, सुराही र छाता मात्र लिएर निस्किएको भन्दै उनी जस्ता त्यागी राजनेता पाउन कठिन भएको बताउनु भयो ।

काठमाडौँको प्रत्येक घरमा मेलम्चीको पानी खुवाउने किशुनजीको सपना पुरा गर्न सरकारले कुनै कसर बाँकी नराखेको भन्दै उनले भट्टराईको शालिकको उद्घाटन वर्तमान सरकारकै पालामा हुने बताउनु भयो । उहाँले एसियाली विकास बैङ्कको प्रारम्भिक रिपोर्ट आएको र विस्तृत रिपोर्ट आए बमोजिम सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानीको हेडवक्र्स क्षेत्रको मर्मत सम्भार गरी स्थायी रुपमा मेलम्चीको पानी काठमाडौँ पथान्तरण गरिने बताउनु भयो ।
उहाँले मेलम्चीको विकल्पमा बागमतीबाटै थप पाँच करोड लिटर पानी काठमाडौँमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सिस्नेरीबाट करिब १५ करोड लिटर पानी काठमाडौँ ल्याइने बताउनु भयो ।
प्रतिनिधिसभाबाट खानेपानी तथा सरसफाइ सम्बन्धी विधेयक पारित भइसकेको जनाउँदै मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौँवासीको घर घरमा पुर्याएको खण्डमा पूर्वप्रधानमन्त्री स्वर्गीय भट्टराईको सपना पुरा हुने बताउनु भयो ।
पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले स्वर्गीय कृष्णप्रसाद भट्टराई स्वच्छ छविको निष्कलङ्क र सन्त नेता भएको जनाउँदै मेलम्चीको पानी काठमाडौँवासीलाई खुवाउने सपना पुरा गर्न लागेकोमा मन्त्री र सरकारलाई धन्यवाद दिनु भयो ।
कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानका महासचिव विनोद भट्टराईले प्रधानमन्त्री भइसक्दा पनि बालुवाटारबाट निस्कँदा आफ्नो निजी सम्पत्तिको रुपमा सुराही, छाता र टिनको बाकस मात्र लिएर जानु भएको बताउनु भयो । निजी सम्पत्ति आर्जनमा कहिल्यै ध्यान नदिने भट्टराई इमान्दारिताको प्रतिमूर्ति भएको बताउनु भयो ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले किसुनजीको योगदान र पहिचान झल्किने गरी पूर्णकदको शालिक निर्माण गर्न सुझाव दिँदै नगरपालिकाले किसुनजीको शालिक र पार्क क्षेत्रको सञ्चालन र संरक्षण गर्ने बताउनु भयो ।
पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले किसुनजी सुशासनको प्रतिमूर्ति भएको जनाउँदै जनस्तरबाटै आलोचना र बिरोध नखेपेका नेपालका एक मात्र प्रधानमन्त्री भएको दाबी गर्नु भयो । उहाँले किसुनजी जस्ता त्यागी नेतालाई सम्झिएकोमा खानेपानी मन्त्री र मन्त्रालयप्रति आभार व्यक्त गर्नु भयो ।
कांग्रेस काठमाडौँका सचिव दिपक पुडासैनीले मेलम्चीको पानी काठमाडौँ ल्याएर सडक पखाल्ने योजना सुनाउँदा मन्त्री विरोधीले अनेक आलोचना गर्ने गरेको तर आज किसुनजीको सपना पुरा भएको बताउनु भयो ।
खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले किसुनजीको शालिकसहितको पार्क निर्माण हुने भन्दै मन्त्री परिषद्ले गरेको निर्णय बमोजिम जिम्मेवारी पुरा गर्न मन्त्रालय तयार भएको बताउनु भयो ।
मेलम्ची खानेपानी विकास समितिको एक करोड रुपैयाँ बढीको लागतमा निर्माण गरिने शालिक सहितको पार्क निर्माण यही मङ्सिरसम्म गरिसक्ने लक्ष्य रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्