तपाईँ सुन्दै हुनुहुन्छः

एनएफपिजे फुटसल प्रतियोगिताको उपाधि हाम्रो फुटसल पत्रकार टिमलाई

काठमाडौँ । एनएफपिजे फुटसल प्रतियोगिताको उपाधि हाम्रो फुटसल पत्रकार टिमले जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)को २५ औँ वार्षिक उपलक्ष्यमा आयोजना गरिएको प्रतियोगितामा उक्त टिमले जित हात पारेको हो ।

स्वस्तीश्री गुरुकुल विद्यालयको खेलमैदानमा भएको खेलमा १२ टिम सहभागी थिए । नकआउट चरणमा खेलाइएको खेलको पहिलो चरणमा गोला प्रथाबाट १२ टिमबिच प्रतिस्पर्धा भएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस), वरिष्ठ पत्रकार ऋषि धमलाको टिम, सिलापत्र, गोरखापत्र, हाम्रो जन्मभूमि, नियात्रा टिभी, रेडियो पर्यावरण, फोटो पत्रकार सङ्घ धादिङ, हाम्रो फुटसल टिम, गुरुङ पत्रकार सङ्घ लगायत टिमको सहभागिता थियो ।

दोस्रो चरणमा जितेर आएका छ टिम खेलेका थिए । सेमिफाइनलमा धादिङ फोटो पत्रकार समूह र एटजोन गुरुङ पत्रकार टिमबिच खेल भएको थियो भने हाम्रो फुटसल पत्रकार टिमले वाइ पाएर सिँधै फाइनलमा पुगेको थियो ।

धादिङ टिमलाई दुईका विरुद्ध चार गोल अन्तरले हराउँदै हाम्रो फुटसल पत्रकार टिमले उपाधि हात पारेको थियो ।

प्रतियोगिताको म्यान अफ दी म्याच वासु अवालले पाएका थिए । उत्कृष्ट गोलकिपर धादिङ फोटो पत्रकार सङ्घका श्रीकृष्ण भण्डारीले पाउन सफल भए ।

साथै विजेतालाई मेडल, ट्रफी र प्रमाणपत्र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तले वितरण गर्दै संस्थाको २५ औँ स्थापना दिवसका अवसरमा पत्रकार तथा फोटो पत्रकारबिच भाइचाराको सम्बन्ध विकास गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो । उक्त कार्यक्रममा विजबजार डटकम र स्वस्तीश्री गुरुकुल स्कुलको सहयोग थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button