जनकपुरधामको विकासका लागि सरकार तयार छ : मन्त्री चौधरी

जनकपुरधाम । सहरी विकास मन्त्री मेटमणि चौधरीको लामो प्रतीक्षापछि जनकपुरधामको बसपार्कको निर्माणले जनकपुरधामको समग्र विकासमा योगदान पुग्ने बताउनुभएको छ ।
रामजानकी दुलका बसपार्कको आज जनकपुरधाममा शिलान्यास गर्नुहुँदै मन्त्री चौधरीले सुन्दर र व्यवस्थित शहर निर्माणका लागि सहरमा व्यवस्थित बसपार्क हुन आवश्यक भएको बताउनुभयो ।
उहाँले जनकपुरधामको फोहर व्यवस्थापन गर्नका लागि उपमहानगरपालिकाले जग्गा उपलब्ध गराएको खण्डमा मन्त्रालयले ल्याण्डफिल निर्माणका लागि जति पनि रकम दिनका लागि तयार भएको बताउनुभयो ।
उहाँले जनकपुरधामको व्यवस्थित सहरी विकासका लागि विगतमा मन्त्रालयले धेरै योजनाहरूमा लगानी गरेको बताउँदै भविष्यमा पनि गर्ने बताउनुभयो ।
मधेश प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोले सुन्दर र व्यवस्थित सहरको निर्माण गर्नका लागि बसपार्क अति आवश्यक भएको बताउँदै अहिले बसपार्क निर्माणको सपना पुरा हुन लागेकोमा खुसी व्यक्त गर्नुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले जनकपुरधामबासीको व्यवस्थित बसपार्कको निर्माण हुनु पर्ने वर्षौँको चाहना पुरा हुन लागेकोमा खुसी व्यक्त गर्दै नगरको फोहर व्यवस्थापनका लागि ल्याण्डफिलको निर्माणमा मन्त्रालयको सहयोग रहने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा पूर्व नगरप्रमुख लाल किशोर साह, वडा नंं २३ का अध्यक्ष राघवेन्द्र साह, सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरी सहितका वक्ताहरूले बोल्नुभएको थियो ।
सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले भ्याट कन्टीजेन्सीसहित १९ करोड ९८ लाख ९४ हजार ६९ रुपैयाँ ३८ पैसामा ठेक्का लागेको उक्त बसपार्क १५ महिनामा निर्माण सकिने गरी ठेक्का सम्झौता भएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्