प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिर २ गते गर्नेगरी मिति तोक्न आयोगको परामर्श

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन आगामी मङ्सिर २ गते शुक्रवार एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न सरकारलाई परामर्श दिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसँग आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र निर्वाचन आयुक्तहरूले गर्नुभएको छलफलमा आगामी मङ्सिर २ गते निर्वाचनको मिति तोक्न आयोगले सरकारलाई परामर्श दिएको हो ।
त्यस अवसरमा प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आयोगले सिफारिस गरेको मिति कै सेरोफेरोमा निर्वाचन अवधि समेत कायम हुनेगरी सरकारले उपयुक्त मिति तोक्ने जानकारी गराउनु भयो ।
प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचन, २०७९ शान्तिपूर्णरुपमा सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद दिनुभयो ।
त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी निर्वाचनमा विद्युतीय मतदान यन्त्रको प्रयोग गर्ने सम्बन्धमा समेत आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, २०७९ सम्पन्न गर्न करिब १० अर्ब खर्च हुने प्रारम्भिक अनुमान आयोगले पेश गरेको छ ।
निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचन सम्बन्धी कानूनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्