तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारहरूसँगको अन्तरक्रिया विराटनगरमा सम्पन्न

विराटनगर । स्वास्थ्यसम्बन्धी जानकारी गराउने उद्देश्यले स्वास्थ्यसम्बन्धी प्रदेश स्तरीय पत्रकारहरूसँगको अन्तरक्रिया आज विराटनगरमा सम्पन्न भएको छ ।

स्वास्थ्य निर्देशनालय प्रदेश न १ धनकुटाको आयोजनामा भएको कार्यक्रममा प्रदेश १ का विभिन्न जिल्लाका पत्रकारहरूको सहभागिता थियो ।

कार्यक्रममा प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले प्रदेश सरकारले दुर्गम हिमाली तथा पहाडी जिल्लामा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने गरी यस पटकको बजेटमा व्यवस्था गरेको बताउनुभयो ।

उहाँले कुल बजेटको ९ प्रतिशत रकम स्वास्थ्य क्षेत्रमा छुटाइएकाले प्रदेश १ का हिमाली पहाडी तथा तराइका सबै वडाहरूमा स्वास्थ्य केन्द्र तथा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइने बताउनुभयो । सरकारले प्रवाह गरेको निःशुल्क स्वास्थ्य सेवा लक्षित वर्गसम्म पुग्न नसकेकाले यस्ता सेवाबारे स्थानीय स्तरमा जानकारी गराउन पत्रकारहरूले कलम चलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

स्वास्थ्य मन्त्रालयका सचिव अनुप भट्चन्दले आवश्यकता अनुसार स्वास्थ्य क्षेत्रमा जनशक्ति नहुँदा समस्या हुने गरेको बताउनुभयो । प्रदेश १ मा ४७ प्रतिशत दरबन्दी रिक्त रहेकाले आवश्यकता अनुसार स्वास्थ्यकर्मीको रिक्त दरबन्दी चाँडै पुरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

स्वास्थ्य निर्देशनालय प्रदेश १ धनकुटाका का प्रमुख ज्ञानबहादुर बस्नेतले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन स्वास्थ्य प्रणालीमा सुधार आवश्यक रहेको बताउनुभयो । सीमित साधन श्रोतका बाबजुद करार तथा अस्थायी दक्ष स्वास्थ्यकर्मी राखेर भए पनि निर्देशनालयले प्रदेश १ मा उल्लेखनीय काम गरिरहेको उहाँको दाबी थियो ।

कार्यक्रममा निर्देशनालयका खोप अधिकृत उदय श्रेष्ठले निर्देशनालयले प्रदेश १ मा गरेको काम तथा प्रदेशको स्वास्थ्य अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा सुरेश मेहता, नेपाल पत्रकार महासङ्घ प्रदेश १ का अध्यक्ष लिला वल्लभ घिमिरे, स्वास्थ्य खबर मञ्चका महासचिव भिसा काफले लगायतले स्वास्थ्य सेवा प्रभालाई थप बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button