समृद्धिका लागि शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्छ : राज्यमन्त्री श्रेष्ठ

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मुलुकको आर्थिक समृद्धिका लागि शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
कोटेश्वरस्थित काञ्जिरोवा राष्ट्रिय माविको २५ औँ वार्षिकोत्सव कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले शैक्षिक गुणस्तरलाई सुधार गर्दै दक्ष र योग्य जनशक्ति उत्पादन गरेर स्वदेशमै रोजगारी सिर्जना गर्न सकिए समृद्धिको आधार तयार हुने बताउनुभयो।
शिक्षादेवीसमेत रहनुभएका राज्यमन्त्री श्रेष्ठले नेपालमै उत्कृष्ट शिक्षा सम्भव छ भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायलाई दिन काञ्जिरोवा स्कुल पनि एक उदाहरण भएको चर्चा गर्नुभयो ।
उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान)का अध्यक्ष रमेशकुमार सिलवालले शिक्षामा निजी क्षेत्रले दिएको योगदानको उल्लेखनीय भएको र भविष्यका पुस्तलाई सक्षम बनाउने माध्यम नै शिक्षा क्षेत्र भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा विद्यालयमा लामो समय योगदान दिने शिक्षक कर्मचारी र उत्कृष्ट विद्यार्थी तथा कक्षा १० र १२ को एसइई परीक्षाका गत वर्षमा सफल भएका विद्यार्थीलाई विद्यालयका अध्यक्ष अम्बिकाप्रसाद पौडेलबाट सम्मान गरिएको थियो ।
विद्यालयका कार्यकारी निर्देशक महेन्द्र खनालले विद्यालयले शैक्षिक गुणस्तरलाई जीवनोपयोगी बनाउन सूचना प्रविधि र आविष्कारका क्षेत्रमा कार्यरत संस्थासँग समेत सहकार्य गरिएको बताउनुभयो । विद्यालयका प्रिन्सिपल रञ्जित थापाले २१ औँ शताब्दी अनुकूल सीप र विकासमा केन्द्रित ज्ञान हासिल गराई अनुशासित नागरिक उत्पादनको लक्ष्य लिइएको जनाउनुभयो ।
वि.स.२०५५ मा काठमाडौँ डोनबस्को माविका नामबाट सो विद्यालय सञ्चालित भएको थियो ।









प्रतिक्रिया राख्नुहोस्