लमजुङका ७६ प्रतिशत पानीमा ‘इकोलाइ’

लमजुङ । पहाडी जिल्ला लमजुङका ७६ प्रतिशत खानेपानीमा ‘इकोलाइ’ अर्थात् दिसा मिसावट भएको पाइएको छ ।
जिल्लाका सात स्थानीय तहको खानेपानी आयोजना र ढुङ्गे धाराको खानेपानीमा स्वास्थ्य कार्यालयले विभिन्न समयमा १२० स्थानको पानीको नमुना परीक्षण गरेकामा ९१ वटामा ‘इकोलाइ’ भेटिएको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई ‘इकोलाइ’भनिन्छ । परीक्षणमा जिल्लाका अधिकांश स्थानको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको छ । यतिका प्रतिशतमा इकोली भेटिँदा यस जिल्लामा शुद्ध पानी कमै नागरिकले मात्र प्रयोग गरिरहेको उहाँको भनाइ थियो । जिल्लाका आठ स्थानीय तहमध्ये दूधपोखरी गाउँपालिकामा भने परीक्षण गरिएको छैन ।
स्वास्थ्य कार्यालयका अनुसार परीक्षण गरिएकामध्ये सुन्दरबजार नगरपालिकामा ३९ वटा नमुना परीक्षण गर्दा २७ अर्थात् ६९ प्रतिशत इकोलाइ भेटिएको छ । बेँसीशहर नगरपालिकामा २९ वटा नमुना परीक्षण गर्दा २२ अर्थात् ७६ प्रतिशत पानीमा इकोली भेटिएको छ । मध्यनेपाल नगरपालिकामा खानेपानीको २२ वटा नमुना परीक्षण गर्दा २० अर्थात् ९१ प्रतिशत पानीमा इकोलाइ भेटिएको छ ।
राइनास नगरपालिकामा आठ वटा नमुना परीक्षण गर्दा छ वटा अर्थात् ७५ प्रतिशत रहेको छ भने दोर्दी गाउँपालिकामा पाँच वटा नमुना परीक्षण गर्दा चार अर्थात् ८० प्रतिशतमा इकोलाइ रहेको भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
मर्स्याङ्दी गाउँपालिकामा परीक्षण गरिएको दुई वटै नमुनामा शतप्रतिशत इकोलाइ भेटिएको छ भने, क्वहोंलासोँथर गाउँपालिकामा १४ नमुना परीक्षण गर्दा १० वटा अर्थात् ७१ प्रतिशतमा इकोली भेटिएको छ ।
ती तथ्याङ्कको आधारमा यस जिल्लामा सरकारले शुद्ध खानेपानी नागरिकलाई उपलब्ध गराउनका लागि चुनौती थपिएको छ । एक घर एक धारा अभियान तीव्र रुपमा अघि बढिरहे पनि शुद्ध पानी पुर्याउन भने सरकार असफल भइरहेको सरोकारवालाले बताए ।
स्वास्थ्य कार्यालयले बर्खा लाग्नुभन्दा अगाडि र बर्खाको सुरुवातमै सम्बन्धित उपभोक्ता समितिको समन्वयमा खानेपानीको नमुना सङ्कलन गरी परीक्षण गरेको कार्यालय प्रमुख दवाडीको भनाइ थियो ।
बर्खाको समयमा सङ्क्रमणको जोखिम रहने भएकाले स्वास्थ्य सावधानी अपनाउनाका साथै पानी शुद्धीकरण गरी पिउन उक्त कार्यालयले आग्रह गरेको छ । जिल्ला अस्पतालदेखि घले गाउँ घरवास, ढोडेनी स्वास्थ्य चौकी, फेलनी स्वास्थ्य चौकी, विभिन्न खानेपानी आयोजना, कुँवा, उपभोक्ता समितिको धारालगायत पानी उमालेर मात्र पिउनुपर्ने स्वास्थ्य कार्यालयले जोड दिएको हो ।
उक्त कार्यालयले सार्वजनिक गरेको एकीकृत भेक्टर सर्भिलेन्सको नतिजाअनुसार राइनास, मध्यनेपाल र सुन्दरबजार नगरपालिकामा गरिएको परीक्षणमा तीन पालिकामा लामखुट्टेबाट विभिन्न प्रकोप फैलिन सक्ने देखिएको छ ।
तीमध्ये राइनास र सुन्दरबजारमा डेँगु, हात्तीपाइले रोग र कालाज्वारको प्रकोप फैलिन सक्ने देखिएको र मध्यनेपाल नगरपालिकामा भुसुनाजन्य रोग अर्थात् मलेरियाको प्रकोप फैलिने उच्च सम्भावना देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्