तपाईँ सुन्दै हुनुहुन्छः

साझेदारी वनद्वारा साढे तीन लाख बढी बिरुवा उत्पादन

चन्द्रौटा।  कपिलवस्तुका तीन साझेदारी वनले साढे तीन लाख बढी बिरुवा उत्पादन गरेका छन् । कपिलवस्तु साझेदारी वन, शिवराज साझेदारी वन र गौतमबुद्ध साझेदारी वनले विभिन्न जातका बिरुवा उत्पादन गरी वितरणको तयारी गरेका छन् । 

उजाड र वन अतिक्रमित क्षेत्रमा वृक्षारोपण गर्नका लागि बिरुवा उत्पादन गरी वितरण गर्ने कार्यक्रम राखिएको डिभिजन प्रमुख दधिलाल कँडेलले जानकारी दिनुभयो । बिहीबार वन अतिक्रमित क्षेत्र तथा नर्सरी क्षेत्रको अनुगमनका क्रममा वातावरण हरियाली र वन क्षेत्र बढाउने उद्देश्यले कपिलवस्तुको शिवराज नगरपालिका महाराजगञ्ज नगरपालिका, कृष्णनगर नगरपालिका  र विजयनगर गाउँपालिकामा वृक्षरोपणको लागि सबै साझेदारी तथा डिभिजन वनले बिरुवा उत्पादन गरेको बताउनुभयो ।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि साझेदारी वनले उपभोक्तालाई मध्यनजर गरी कागजात तथा फलफूलका बिरुवा वितरण गर्ने कपिलवस्तु साझेदारी वनका अध्यक्ष गगेश तिवारीले बताउनुभयो । बिरुवाको लागि निवेदन दिने क्रम सुरु भएकाले अब केही दिनबाट वितरण कार्य सुरु गरिने तिवारीले बताउनुभयो ।

कपिलवस्तु साझेदारी वनले एक लाख ३० हजार बिरुवा उत्पादन गरेको छ । महाराजगञ्ज नगरपालिका क्षेत्र रहेको नर्सरी बिरुवा उत्पादन भएको सहायक वन अधिकृत एजाज अन्सारीले बताउनुभयो ।

त्यस्तै शिवराज साझेदारी वनले यस वर्ष एक लाख २० हजार, गौतमबुद्ध साझेदारी वनले एक लाख १० हजार बिरुवा उत्पादन गरेका छन् । टिक, मसाला, सफेता, निम, तेजपात बकाइनो, जमुनालगायतका बिरुवा उत्पादन भएको र उपभोक्तालाई निःशुल्करूपमा बिरुवा वितरण गरिने सहायक वन अधिकृत प्रेमशङ्कर गुप्ताले बताउनुभयो । 

यता डिभिजन वन कार्यालय गौतमबुद्धले यस वर्ष दुई लाख ८७ हजार बिरुवा उत्पादन गरेको छ  । बहुवर्षीय बिरुवाअन्तर्गत गत वर्षका ९१ हजार बिरुवा पनि यसै वर्ष वितरण गर्ने डिभिजन वन कार्यालयका योजना शाखाका अधिकृत गणेश चौधरीले बताउनुभयो ।

शिवराज नगरपालिका पाँच रहटकोलमा अतिक्रमित २२ हेक्टर वन क्षेत्रमा वृक्षारोपण गरिएको छ । स्थानीय उपभोग गर्दै आएको वन क्षेत्रलाई डिभिजन वन कार्यालय गौतमबुद्धले तारबार गरी वृक्षारोपण  गरेको डिभिजन प्रमुख दधिलाल कँडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button