स्वास्थ्यमा गरिबको पहुँच नभएसम्म मुलकको गरिबी घटाउन कठिन : विज्ञहरू

जनकपुरधाम । स्वास्थ्य सेवामा समुचित लगानी भएको नभएको खण्डमा मुलुकको गरिबी घटाउन कठिन हुने विज्ञहरूले औँल्याउनु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य महाशाखाले “स्वास्थ्यमा लगानी बढाऔँ, कसैलाई पनि सेवाबाट वञ्चित नगरौँ” मूल नारा सहित स्वास्थ्य सर्वव्यापी पहुँच सम्बन्धी जनकपुरधाममा आज आयोजना गरिइएको नीतिगत संवाद कार्यक्रममा बोल्दै विज्ञहरूले सो कुरा बताउनु भएको हो ।
उहाँहरूले विश्व स्वास्थ्य सङ्गठनका अनुसार कूल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा लगानी हुनु पर्ने मान्यता अगाडि सारेको बताउँदै सो प्रतिशतमा तीनै तहका सरकारले लगानी नगरेसम्म मुलुकको गरिबी घटाउन कठिन हुने बताउनु भयो ।

विज्ञहरूले स्वास्थ्य सेवामा गरिबको पहुँच नभएको खण्डमा गरिब जनताले स्वास्थ्य उपचारमा गर्ने खर्चले उनीहरूको गरिबी थप बढाउने तथ्य स्वास्थ्यको वित्तीय सुरक्षाका प्राध्यापक डा.शिवराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँले स्वास्थ्य सेवामा सबैको समान तथा सहज पहुँच हुनु पर्नेमा हुन नसकेको बताउँदै नेपालको स्वास्थ्य सेवामा निजी क्षेत्रको पहुँच एवं लगानी निक्कै बढेको कारणले गरिब वर्गका जनताहरू गुणस्तरीय स्वास्थ्य सेवाका लागि निजी स्वास्थ्य संस्थामा जाने भएकाले गरिबी बढ्ने गरेको बताउनु भयो ।
स्वास्थ्य विज्ञ महेन्द्रप्रसाद श्रेष्ठले तीन तहको सरकार भएकाले सबै तहका सरकारहरूले स्वास्थ्य क्षेत्रको विकासमा कम्तीमा पनि कूल बजेटको १० प्रतिशत लगानी गर्नु पर्ने धारणा राख्नु भयो ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहले मधेश प्रदेशको स्वास्थ्य संस्थाहरूको स्तर वृद्धिका साथै जनकपुरधामको प्रादेशिक अस्पताललाई टिचिङ अस्पतालको रुपमा परिणत गर्ने काय सहित प्रतिष्ठान अगाडी बढेको बताउनु भयो ।
मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले स्वास्थ्य सेवामा सबैको पहुँच बढाउनका लागि मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष देखि ५९ गाउँपालिकाको ३ सय ५९ वडामा एच ए तथा स्टाफ नर्सको दरबन्दी सृजना गरेर घर घरमा जनताको नियमित स्वास्थ्य उपचार गर्ने बताउनु भयो ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले जनकपुरधाम उपमहानगरपालिकाले स्वास्थ्य सेवालाई सुलभ बनाएर जनताको पहुँच बढाउनका लागि उचित बजेट व्यवस्थापन गरेको बताउनु भयो । जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डलले गुणस्तरीय स्वास्थ्यमा आम जनताको पहुँच बढाउनका लागि पालिकाहरूसँग समन्वय गर्ने बताउनु भयो ।
सो कार्यक्रममा विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरू, वडाध्यक्षहरू, स्वास्थ्य शाखा प्रमुखहरू, स्वास्थ्य कार्यालय तथा अस्पतालका मेडिकल अधिकृतहरूको सहभागिता रहेका थिए ।







प्रतिक्रिया राख्नुहोस्