अध्यक्ष चढ्न खरिद गरिएको गाडी बृद्धबृद्धा र अशक्तका लागि प्रयोग हुने
वीरगन्ज । पर्साको बिन्दबासिनी गाउँपालिकाका अध्यक्ष चढ्न खरिद गरिएको गाडी अब पालिकाका वृद्धवृद्धा र अशक्तका लागि प्रयोग गरिने भएको छ ।
विन्दवासिनी गाउँपालिकाका पूर्व अध्यक्षको पालामा खरिद गरिएको स्कार्पियो गाडी अहिलेका अध्यक्ष प्रमोद तिवारीले नचढ्ने र उक्त गाडी अब पालिकाका बृद्धबृद्धा र अशक्तहरूको यातायातका लागि प्रयोग गरिने भएको हो ।
प्रमुख प्रशासकीय अधिकृत राजु साहका अनुसार, गाउँ कार्यपालिकाको पहिलो बैठकले पालिका अध्यक्षका लागि रहेको गाडी सामाजिक सुरक्षा भत्ता लिन बृद्धबृद्धा र असक्तहरूलाई घरबाट बैङ्कसम्म लैजान र बैङ्कबाट फेरि घर सम्म पुर्याउन प्रयोग गरिने निर्णय गरेको हो ।
पालिका अध्यक्ष तिवारी स्वयंले आफूले निजी गाडी प्रयोग गर्ने र सरकारी गाडी बृद्धबृद्धा र अशक्तको यातायातका लागि प्रयोगमा ल्याउने प्रस्ताव गरेको साहले जानकारी दिनुभयो ।
बैठकले पालिकाका कोही पनि बिरामी उपचारका लागि वीरगन्ज वा कुनै पनि क्लिनिकमा जानु पर्दा पालिकाले इन्धन खर्च बापत ५ सय रुपैयाँ मात्र शुल्क लिएर एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय पनि गरेको साहले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्