तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चारमन्त्री कार्कीद्वारा रेडियो नेपालको ओटीटी एप्स सार्वजनिक

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपालको डिजिटल प्लेटफर्म ओटीटी एप्स सार्वजनिक गर्नुभएको छ ।

रेडियो नेपालको कार्यालय सिंहदरबारमा आज आयोजित एक विशेष कार्यक्रममा उहाँले उक्त एप्स सार्वजनिक गर्नुभएको हो ।

एप्स सार्वजनिक गर्नुहुँदै मन्त्री कार्कीले रेडियो नेपाल जनताको प्रथम रोजाई बन्नुपर्ने बताउनुभयो ।

मन्त्री कार्कीले रेडियो नेपालको गौरवपूर्ण इतिहास रहेको भन्नुहुँदै यसको क्षमता अभिवृद्धि गरी श्रोताको रुचि र चाहाना अनुरूपका सामग्री प्रसारण गरेर जनताको प्रथम रोजाइ बन्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री कार्कीले विदेशमा रहेका नेपालीहरूलाई  देशसँग जोड्न ओटीटी एप्सको भूमिका महत्त्वपूर्ण हुन सक्ने भन्नुहुँदै एप्स मार्फत मुलुकप्रतिको आत्मीयतालाई अभिवृद्धि गर्न र काममा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो  प्रसार सेवा विकास समिति, सञ्चालक समितिका अध्यक्ष डा. वैकुण्ठ अर्यालले ओटीटी एप्स मार्फत रेडियो नेपालको पहुँचलाई शतप्रतिशत जनसङ्ख्यामा पुर्‍याउन  मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सचिव अर्यालले  डिजिटल प्लेटफर्ममा राख्ने श्रव्यदृश्य सामग्री कत्तिको गुणस्तरीय छ भन्ने कुराले प्लेटफर्मको लोकप्रियता कायम हुने भन्नुहुँदै सामग्री राख्दा विचार पुर्‍याउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले डिजिटल प्लेटफर्म ओटीटी एप्स एउटा ड्रिम प्रोजेक्ट भएको भन्नुहुँदै यसबाट रेडियो नेपाललाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सहज हुने बताउनुभयो ।

कार्यक्रममा रेडियो नेपालका नायब कार्यकारी निर्देशक कृष्णचन्द्र पौडेलले ओटीटी एप्सको निमार्ण एउटा नयाँ अध्यायको सुरुवात भएको भन्नुहुँदै यसले आर्थिक उपार्जनमा टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा ओटीटी एप्स निर्माणमा सहकार्य गरेको कम्पनी न्यु आइटी भेन्चर्सका कमल अधिकारीले रेडियो नेपालका श्रब्यदृश्य सामग्रीलाई सहज, सरल ,सुलभ र व्यवस्थित रुपमा आम मानिस समक्ष पुर्‍याउन एप्सले मद्दत गर्ने बताउनुभयो ।

रेडियो नेपालले विगत वर्षहरूदेखि नै डिजिटलाइजेसन गरिसकेका श्रव्य सामग्रीहरूको बजारीकरण गरी थप आय आर्जन गर्न ओटीटी एप्स सार्वजनिक गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button