तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुर स्वास्थ्य चौकीमा प्रसूति सेवा केन्द्र निर्माणको शिलान्यास

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरस्थित जीतपुर स्वास्थ्य चौकीमा प्रसूति सेवा केन्द्र निर्माणको शिलान्यास भएको छ ।

प्रसूति सेवा केन्द्रको शिलान्यास जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले गर्नुभएको हो । सूर्य नेपाल प्रा.लि.को आर्थिक सहयोगमा १५ सय स्क्वायर फिटमा ४ वटा कोठा र एउटा शौचालय बाथरुम निर्माण हुने उद्योगका प्रतिनिधि यज्ञबहादुर आलेले जानकारी दिनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिकामा सबभन्दा बढी प्रसूति हुने स्वास्थ्य चौकीमा जीतपुर स्वास्थ्य चौकी पर्ने गर्दछ । त्यहाँ हरेक महिना ६० जनाको हाराहारीमा महिलाहरूले बच्चा जन्माउने गर्दछन् ।

एक करोडको लागतमा निर्माण हुने अनुमान गरिएको प्रसूति सेवा केन्द्र दुई महिना भित्रै निर्माण गरिने लक्ष्य राखिएको छ । भवन अभावमा स्वास्थ्य उपचार र प्रसूति एउटै ठाउँमा गर्नुपर्ने बाध्यताले बिरामी र स्वास्थ्यकर्मीहरुले बाध्यता खेप्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button