तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिक दलहरूबिच राष्ट्रिय सहमति आवश्यक: अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विदेश नीति र कूटनीतिक सम्बन्धमा राजनीतिक दलहरूबिच राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ ।

पूर्वराजदूत समूहले आयोजना गरेको ‘वर्तमान सन्दर्भमा नेपालको परराष्ट्र मामिला’ विषयक साक्षात्कारमा उहाँले नेपाल जस्तो देशका लागि कूटनीतिक सम्बन्धबारे दलहरूबिच सहमति आवश्यक भएको उल्लेख गर्नुभयो ।

पूर्व प्रधानमन्त्री ओलीले राजनीतिक दलले परराष्ट्र मामिलामा सहमतिका साथ अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । सरकारले प्रतिपक्षमा रहेको दलसँग परामर्श गर्नुपर्ने उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले छिमेकी मुलुकसँग भरपर्दो, विश्वसनीय नीति र व्यवहारका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो । छिमेकीसँगको सम्बन्धलाई बढी महत्त्व दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राष्ट्रिय हितको प्रश्नमा सत्ता र प्रतिपक्षको अलग अलग विचार हुन नहुने बताउनुभयो ।

पूर्वराजदूत दीपकुमार उपाध्यायले छिमेकीसँगको चुरो समस्या के हो भनेर केलाउन नसकेको बताउनुभयो । पूर्वराजदूत योगेन्द्र ढकालले चीन, भारत र अमेरिकासँग कूटनीतिक तवरबाट कुरा राख्नुपर्ने सुझाव दिनुभयो । पूर्वराजदूत अर्जुन कार्कीले छिमेकीसँग सम्झौता गर्दा विज्ञ समूहको सुझाव लिनुपर्नेमा जोड दिनुभयो । पूर्वराजदूत टङ्क कार्कीले परराष्ट्रका सिद्धान्त र नीतिलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्नुभयो । पूर्वराजदूत डा. अञ्जना शाक्यले परराष्ट्र र राष्ट्रिय हितलाई टेकेर अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button