तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले कालीगण्डकी करिडोर सडकको बागलुङ खण्ड अवरुद्ध

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर सडकको बागलुङ खण्ड अवरुद्ध भएको छ ।

बागलुङको जैमिनी नगरपालिकामा ठाउँ ठाउँमा पहिरो खसेपछि कालीगण्डकी करिडोर तीन दिनदेखि ठप्प भएको छ । जैमिनी नगरपालिकाको विनामारे, अर्जेवा लगायतका ठाउँमा पहिरो गएर करिडोर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेराबाट वडाहरूमा तथा बागलुङबाट बुटवल जाने यात्रीहरूलाई समस्या परेको छ । अवरुद्ध सडक खुलाउन सडक विभागले कुनै चासो नदिएको स्थानीयको भनाई छ ।

पहिरो पन्छाउँदै सडक सञ्चालन गरे पनि पुनः पहिरो जाने गरेकाले समस्या भइरहेको स्थानीयले बताएका छन् । जैमिनी नगरपालिका–७ जैदी र वडा नं ८ छिस्ती जोड्ने चौरीखोलामा समयमा पुल नबन्दा स्थानीयलाई सास्ती भएको छ ।

करिडोरमा पर्ने सो खोलामा राखिएको बेलिब्रिज निकालिएको र अर्को पुल निर्माण सम्पन्न नहुँदा हिँडेर खोला तर्न समेत कठिन भएको स्थानीय नवीन अधिकारीले जानकारी दिनुभयो । करिडोर अन्तर्गत सो खोलामा यातायात सञ्चालन हुन सकेको छैन । सवारी साधनका लागि डाइभर्सन बनाइएको भए पनि वर्षाको बाढीले बगाउँदा करिडोर अवरुद्ध छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button