तपाईँ सुन्दै हुनुहुन्छः

सुझाव सङ्कलन र योजना निर्माणमा व्यस्त सल्यानका जनप्रतिनिधि

सल्यान । सल्यानका स्थानीय तहहरूले वडा र टोल टोलमा गएर बजेट निर्माणका लागि जनताका सुझाव सङ्कलन र योजना निर्माणमा जुटेका छन् । एक महिना अघि भएको स्थानीय तहको चुनावबाट  निर्वाचित जिल्लाका १० वटै स्थानीय तहहरूका जनप्रतिनिधिहरूले आर्थिक वर्षको बजेट बनाउनका लागि जनताको सुझाव सङ्कलनमा व्यस्त भएका हुन । 

जनप्रतिनिधिहरूलाई निर्वाचनका क्रममा मतदातालाई दिएका आश्वासन र अपेक्षा सम्बोधन गर्नुपर्ने दबाब त छ नै आफ्नो स्थानीय तहलाई समृद्ध बनाउने दीर्घकालीन योजना समेट्नु पर्ने भएकाले अहिले जनप्रतिनिधिहरू नागरिक सँगै थप सुझाव पनि सङ्कलन गरिरहेका छन् । 

चुनावका बेला गरेका प्रतिबद्धतालाई ध्यान दिएर आर्थिक वर्षको  नीति कार्यक्रम र बजेट ल्याउन लागेको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले बताउनु भयो । जनप्रतिनिधिको चाहाना भन्दा पनि जनताको चाहाना र मागका आधारमा रहेर बजेट ल्याउने उहाँले बताउनु भयो । उहाँका अनुसार जनताको राय सुझाव सङ्कलनको लागि पहिलो चरणमा वडाका टोल बस्तीमा गएर भेटघाट सहितको सुझाव, योजनाको प्राथमिकीकरण, सरोकारवालाहरू, सङ्घ संस्था, राजनीतिक दलहरू सहितको सुझाव सङ्कलन र पालिका स्तरमा अन्तरक्रियात्मक गोष्ठी मार्फत सङ्कलन गरिएको छ । 

सुझाव सङ्कलनमा नागरिकले  बिशेषगरी कृषिमा जोड, गाउँमै रोजगारीका कार्यक्रम ल्याउनु पर्ने, जनताले लाभ लिने खालका योजना ल्याउनु पर्ने, बाह्रै मास सञ्चालन हुने सडक निर्माण गर्नुपर्ने , सिचाई र खानेपानीको माग गरेको अध्यक्ष केसीले बताउनु भयो । 

निर्वाचित भएर पदभार ग्रहण गरेको छोटो समय भएकाले प्रत्यक्ष जनताको बिचमा जान नसके पनि वडा अध्यक्ष मार्फत वडा र टोलमा गएर जनताको सुझाव सङ्कलन गरिरहेको शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले बताउनु भयो । नागरिकका के के योजना रहेका छन् भनेर नगरपालिकाले निःशुल्क टोल फ्रि नम्बरको पनि व्यवस्था गरेको बताउनु भयो । 

मुख्य कुरा शिक्षा, स्वास्थ्य र विद्युतलाई प्राथमिकतामा राखेर बजेट ल्याउन लागेको बनगाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर बुढाथोकीले बताउनु भयो । कतिपय पुराना योजना भएकाले  योजनालाई पनि समेटेर निरन्तरता दिने र केही नयाँ योजना बनाउनु बताउनु भयो ।

बजेट बनाउँदै गर्दा जनताका सकारात्मक सुझावको अपेक्षा सहित सार्वजनिक रूपमै सूचना जारी गरेर योजना माग गरिएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले बताउनु भयो । कृषि शिक्षा, स्वास्थ्य र विभिन्न निकायका विज्ञ व्यक्तिहरू सँग पनि सुझाव मागेर बजेट ल्याउन लागेको उहाँले बनाउनु भयो । कपुरकोट तरकारीको पकेट क्षेत्र भएकाले कृषिमा जोड दिनको लागि किसानहरू सँग पनि प्रत्यक्ष भेटेर सुझाव सङ्कलन गरिरहेको उहाँले बताउनु भयो । 

स्थानीय सरकार सञ्चालन ऐनले असार १० गते भित्र बजेट ल्याई सक्नु पर्ने व्यवस्था गरेको छ । त्यसैले जिल्लाका १० वटा तह यति वेला बजेट निर्माणमा लागेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button