तपाईँ सुन्दै हुनुहुन्छः

धनपालथान गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । महिला तथा ज्येष्ठ नागरिकसँग गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष कार्यक्रम अन्तरगत मोरङको धनपालथान गाउँपालिका–३ मा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आज सम्पन्न भएको छ ।

गरिब, अति विपन्न तथा ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले धनपालथान गाउँपालिका स्वास्थ्य शाखाले शिविरको आयोजना गरेको हो ।

शिविरमा ८ सय ३७ जनाले सेवा लिएको स्वास्थ्य शाखा प्रमुख ऋषिराज सेठले बताउनुभयो । त्यसमध्ये महिला ५ सय ७८ तथा पुरुष २ सय ५९ जना रहेका छन् ।

शिविरमा आङ खस्ने तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी भिआइए सेवा, क्यान्सर रोगसम्बन्धी सेवा, आँखाको जाँच तथा मोतिया बिन्दुको निःशुल्क अपरेसन, विशेषज्ञ स्वास्थ्य जाँचका साथै स्वास्थ्य प्रयोगशालामा बिरामीलाई निःशुल्क इसिजी तथा भिडियो एक्स-रे सेवा प्रदान गरिएको थियो । त्यस्तै शिविरमा आउने बिरामीहरूलाई ९० प्रकारको औषधि निःशुल्क वितरण गरिएको स्वास्थ्य महाशाखा प्रमुख ऋषिराज सेठले बताउनुभयो ।

विराट मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा भएको शिविरमा क्यान्सर रोगसम्बन्धी विशेषज्ञ सेवा, स्त्री तथा प्रसूति रोग सेवा, जनरल फिजिसियन, हाडजोर्नी तथा नशा रोगसम्बन्धी सेवा, तथा आँखा रोगसम्बन्धी बिरामीहरूलाई विभिन्न प्रकारका सेवा प्रदान गरिएको थियो । शिविरमा अस्पतालका दुई दर्जन बढी चिकित्सहरुले सेवा प्रदान गरेका थिए ।

स्वास्थ्य शिविरको उद्घाटन गर्दै धनपालथान गाउँपालिकाका निवर्तमान अध्यक्ष हरिलाल सिंहले वर्षाको समयमा खेतीपाती गर्ने ग्रामीण क्षेत्रका किसानलाई विभिन्न प्रकारका रोग लाग्ने भएकाले स्थानीय स्तरमा आयोजना हुने शिविर जनताका लागी फलदायी भएको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष जिवछप्रसाद गच्छदारले स्वास्थ्य शिक्षा आम नागरिकको नैसर्गिक अधिकार भएकाले पालिकाले सात वटै वडामा शिविर सञ्चालन गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button