‘सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको छ’
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले १० वर्षे जनयुद्ध र विभिन्न कालखण्डमा भएका जनआन्दोलनमा ज्यान गुमाएका व्यक्तिलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

राष्ट्रिय युवा परिषद्अन्तर्गतको सहिद तथा बेपत्ता योद्धा सन्तति युवा सञ्जालद्वारा काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला गोष्ठीमा मन्त्री गहतराजले समाज रूपान्तरणका लागि ज्यानको आहुति दिने सबैलाई राष्ट्रिय सहिदका रुपमा सम्मान दिनुपर्ने बताउनुभयो ।
सहिद तथा बेपत्ता परिवारका युवा लक्षित नेतृत्व एवं क्षमता विकाससम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री गहतराजले व्यवस्था परिवर्तनका लागि आफ्नो जीवनको बलिदान दिने महान् सहिद तथा बेपत्ता योद्धाहरूकै कारण नेपालमा गणतन्त्र स्थापना भएको उल्लेख गर्नुभयो ।
सहिद तथा बेपत्ता योद्धा सन्तति युवा सञ्जालका अध्यक्ष आरती शर्माको अध्यक्षतामा सञ्चालन गरिएको कार्यशाला गोष्ठीमा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत लगायत विभिन्न जिल्लाबाट उपस्थित २५ बढी युवाको सहभागिता रहेको थियो ।
रासस






प्रतिक्रिया राख्नुहोस्