बाँकेका ट्रक व्यवसायी ढुवानीका साधन थन्क्याएर आन्दोलनमा

नेपालगञ्ज । बाँकेका एक हजार बढी ढुवानी व्यवसायीले आफ्ना ढुवानीका साधन थन्क्याएर आजदेखि आन्दोलनमा उत्रिएका छन् ।
बाँकेका ट्रक व्यवसायीहरूले सरकारको उदासीनताले आफ्नो व्यवसाय धरासयी भएको भन्दै आफ्ना ढुवानीका साधनहरू घर तथा ग्यारेजमा थन्क्याएका हुन् ।
सरकारले व्यवसायीको सवालमा नीति बनाउन नसक्नु र बनाएका नीति पनि कार्यान्वयन गर्न नसक्नुले ट्रक व्यवसायी पलायन हुने अवस्था आएपछि बाध्य भएर गाडीहरू थन्क्याउनु परेको नेपालगन्ज ट्रक व्यवसायी समितिका अध्यक्ष महेन्द्र मल्ल ठकुरीले बताउनुभयो ।
राज्यको कर प्रणाली चुस्त दुरुस्त नहुनु, इन्धन र गाडीको अस्वाभाविक मूल्यवृद्धि, नीतिगत उल्झन लगायतका कारण अर्बौँ लगानी रहेको ट्रक व्यवसाय पलायनको अवस्थामा पुगेका मल्लको गुनासो छ ।
इन्धन र गाडीका पाटपूर्जाको मूल्यवृद्धि हुँदा सरकारले ढुवानी भाडा नबढाएको भन्दै कोहलपुर ट्रक प्रहेलिका अध्यक्ष यज्ञबहादुर ओलीले ढुवानीका साधन चलाउन सक्ने अवस्था नरहेको बताउनुभयो । सरकारले निर्धारण गरेको भाडा समेत आफूहरूले पाउन नसकेको उहाँको दुखेसो छ ।
पछिल्लो पटक सरकारले तराईमा प्रति किलोमिटर ७ रुपैयाँ ६२ पैसा र पहाडमा प्रति किलोमिटर १४ रुपैयाँ ४८ पैसा ढुवानी भाडा निर्धारण गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्