तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कृषि आधुनिकीकरणको कार्यक्रम सफल बनाउने पालिका प्रमुखहरूको अठोट

जनकपुरधाम । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालनमा रहेका सबै कार्यक्रमलाई पूर्ण रुपमा सफल बनाउने प्रतिबद्धता धनुषाका नवनिर्वाचित पालिकाका प्रमुखहरूले गर्नुभएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको जिल्ला परियोजना कार्यान्वयन तथा अनुगमन समिति धनुषाको बैठकमा आज जनकपुरधाममा बोल्दै नवनिर्वाचित पालिका प्रमुखहरूले आफूहरूले जनतालाई केही गरेर देखाउने सोच तथा बाचासहित आएकाले कृषिको विकाससँग प्रत्यक्ष सरोकार भएको परियोजनाको कार्यक्रम कुनै पनि हालतमा सफल बनाउने बताउनुभयो ।

स्वदेशी पुँजी, प्रविधि तथा प्राविधिकको सहयोगमा सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यक्रम तीन तहको सरकारको सहभागितामा सञ्चालनमा रहेको छ । आर्थिक वर्ष २०७३ श्रावणबाट सुरु भएको परियोजनाको कार्यक्रम २०८३ असारसम्म चल्नेछ । धनुषाका १८ वटै पालिकामा खाद्यान्न बाली, मत्स्य उत्पादन, पशुपालन, फलफूल तथा तरकारी बाली उत्पादनको क्षेत्रमा किसानहरूलाई विभिन्न प्रकारको सेवा तथा सुविधाहरू प्रदान हुँदै आएको छ ।

सङ्घीय सरकार मातहतका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मार्फत जोन तथा सुपर जोन, प्रदेश सरकार मार्फत ब्लक विकास कार्यक्रम तथा स्थानीय सरकार मार्फत पकेट विकास कार्यक्रम सञ्चालनमा रहेको छ । पालिकाहरूमा सञ्चालनमा रहेको पकेट विकास कार्यक्रमलाई सफल बनाउन सबै प्रकारको सहयोग गर्न तयार भएको जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले प्रतिबद्धता प्रकट गर्नुभयो ।

गणेमानचारनाथ नगरपालिकाका नगरप्रमुख जितनारा यादवले आफूहरूले जनतासमक्ष गरेको प्रतिबद्धता पुरा गर्नका लागि परियोजनाको पकेट विकास कार्यक्रम सहित सबै कार्यक्रमलाई सफल बनाउनका लागि आग्रह गर्नुभयो ।

लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले कृषिको आधुनिकीकरण तथा व्यवसायीकरण गरेर कृषि उत्पादन बढाउने उद्देश्यले आएको कार्यक्रमलाई सफल बनाउन पालिकाले सबै सहयोग गर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत यादवको अध्यक्षतामा भएको बैठकमा शहिदनगर नगरपालिकाका प्रमुख दिनेश प्रसाद यादव, औरही गाउँपालिका अध्यक्ष उमाशङ्कर प्रसाद साह, वटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतोले आफूहरूले पकेट विकास कार्यक्रम कार्यान्वयन गराउन सबै प्रकारको सहयोग गर्ने बताउनुभयो ।

बैठकमा परियोजना कार्यान्वयन इकाई धनुषाका प्रमुख युगल किशोर तिवारीले पकेट विकास कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ५२ करोड ६४ लाख बजेट विनियोजन भएको बताउँदै धनुषा जिल्लामा नयाँ तथा पुरानो गरेर ८३ वटा पकेट विकासको कार्यक्रम रहेको जानकारी दिनुभयो । यसमा सबै प्रकारको बाली, पशुपालन, आँप खेती, माछा, तरकारी तथा तेलहन र दलहनको कार्यक्रम रहेको छ । अर्को आर्थिक वर्षमा पुराना पकेट विकास कार्यक्रमको ५९ वटा कार्यक्रम फेज आउट हुनेछ भने करिब ३४ वटा थप गरिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button