तपाईँ सुन्दै हुनुहुन्छः

सेती नदीमा भत्केको पुल खोलिँदै  

बैतडी । बैतडी र डोटी जिल्ला जोड्ने बैतडीको सिगास गाउँपालिका–५ ढुंगाडस्थित झोलुङ्गे पुल खोल्ने कार्य सुरु भएको छ । 

२०७८ कार्तिक ३ गते आएको बाढीले पुल भत्काउँदा नदीमै अल्झिएको थियो । पुल भत्किएर नदीमा अल्झिँदा गाउँमा बाढी पस्ने जोखिमका साथै मानिसको ओहोरदोहोर समेत हुँदा दुर्घटनाको जोखिम भएकाले भत्किएका समानहरू खोल्न सुरु गरिएको हो । 

स्थानीय सरकारको पहलमा सेती नदीमा अल्झिएको पुल खोल्ने कार्य सुरु गरिएको सिगास गाउँपालिका वडा न.५ का वडा अध्यक्ष राजेन्द्र चन्दले बताउनुभयो । 

उक्त पुलका सामानहरू अहिले निकाल्न थाले पनि तत्कालै नयाँ पुल निर्माण गर्नु जरुरी रहेको उहाँले बताउनुभयो । 

बैतडी र डोटी जोड्ने उक्त पुल भत्किँदा विद्यार्थी र स्थानियबासीलाई आवतजावतमा निकै सास्ती भएको छ । बैतडीको ढुंगाडमा रहेको शारदा मावी र डोटीको आदर्शमा रहेको भगवती माविमा दुवै ठाउँका विद्यार्थीहरू पढ्न जाने गर्दछन् । पुलबाट आधा घण्टामै विद्यालयमा पुगिनेमा अहिले करिब ८ घण्टाको यात्रा गरेर नागरास्थित पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता छ । 

उक्त पुल भएर खसी बाख्राको विक्री गर्न जाने किसानहरूलाई समस्या भएको छ भने, दैनिक उपभोग्य बस्तु खरिद गर्न र डोटीको आदर्श बासीलाई गाडी भएको ठाउँसम्म पुग्न समस्या भएको छ । 

पुल नहुँदा वारिपारि जान कै लागि समेत दिनभरि हिँडेर डडेलधुराको बाटो यात्रा गर्नुपर्ने बाध्यता छ । 

ढुंगाडस्थित सेती नदीमा पुल निर्माणका लागि स्थानीयवासीले प्रदेश सरकार समक्ष माग गरेका छन् । बर्षातका बेला ढुंगाडमा ठुलो बाढी जाँदा स्थानीयवासी तीन दिनसम्म टापुमा थुनिएका थिए भने, तीन सय बढी रोपनी जमिन बगरमा परिणत भएको थियो । 

उक्त ठाउँको अवलोकन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट त्यहाँ पुग्नुभएको थियो  । सरकारबाट ढुंगाडबासीले समस्या समाधान गर्ने आश्वासन पाए पनि अहिलेसम्म केही काम सुरु भएको छैन । बाढी प्रभावित ढुंगाडबासीले सेती नदीमा परिपक्व तटबन्ध वा बस्ती स्थानान्तरणको माग गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button