तपाईँ सुन्दै हुनुहुन्छः

उद्धार अभ्यासमा नेपाली सेना

दोलखा । नेपाली सेनाको तारा दल गणले दोलखाको तामाकोशी नदी आसपास विपद् प्रतिकार्य घटना अभ्यास गरेको छ । सेनाले गरेको अभ्यास नदी किनार आसपासका बासिन्दाले समेत चासोका साथ हेरेका थिए ।

विशेष गरी वर्षा याममा प्राकृतिक प्रकोपबाट धेरै जनधनको क्षति हुने गरेको र त्यसको मुख्य कारण पूर्व तयारीको अभाव तथा चेतनाको अभाव नै रहेकोले विपद् प्रतिकार्य घटना अभ्यास गरिएको तारा दल गणका गणपति अनिल केसीले बताउनुभयो ।

गणपति केसीको कमान्डमा रहेको नेपाली सेनाले बाढी–पहिरोको कारण खोँचमा अड्किएका मानिसको उद्धार तथा तत्काल उपचार सेवाको लागि स्ट्रेचर र रोपको प्रयोग गर्ने तरीका, हाईलाईन रेस्क्यू अन्तर्गत डोरी टाँगेर गरिने उद्धार, रबर बोटको माध्यमबाट गरिने उद्धार आदीको बारेमा प्रयोगात्मक अभ्यास गरेको थियो ।

त्यसैगरी प्रयोगपछि त्यतिकै खेर जाने कोक तथा फेन्टाको बोतल, टायर, मिनिरल वाटरको बोतल आदिको प्रयोगबाट खोला तर्ने विधि, ड्रमहरूको प्रयोगबाट बोट बनाई खोला तर्ने विधि आदीको बारेमा समेत प्रयोगात्मक अभ्यास गरिएको विपद् प्रतिकार्य घटना अभ्यास कार्यक्रमको स्थानीय स्तरमा संयोजन गर्नुभएका तारा दल गणका सह सेनानी ईश्वर काफ्लेले बताउनुभयो ।

उद्धारको लागि गएको टोली सहभागी ढुङ्गा डुब्यो भने त्यसको स्वयम उद्धार गर्ने तरिका बारेमा समेत प्रयोगात्मक अभ्यास गरिएको थियो । त्यस्तै कोही मानिस नदीमा डुबेको छ र उ जीवितै छ भने उसलाई डोरी फ्याँकेर गरिने (थ्रो ब्याक) उद्धारको बारेमा समेत प्रयोगात्मक अभ्यास गरिएको थियो ।

वर्षा यामको समयमा नेपाली सेनाले नदी किनार आसपास नै गएर विपद् प्रतिकार्य घटना अभ्यास गर्नु सकारात्मक काम भएको पत्रकार शम्भु गौतम बताउँछन् । यस्तो अभ्यासले जोखिममा रहेका नदी किनारका बासिन्दालाई प्राकृतिक प्रकोपबाट बच्ने तरिका र त्यसको रोकथामको बारेमा राम्रो ज्ञान हुने पत्रकार गौतमको भनाई छ ।

विपद् प्रतिकार्य घटना अभ्यासको क्रममा विपद् व्यवस्थापन तथा उद्धारको लागि सुरक्षाकर्मी र अन्य सुरक्षा निकाय बिचको समन्वय तथा सहकार्य, स्थानीय जनप्रतिनिधि, विभिन्न सङ्घ संस्था, कार्यालय र स्थानीय बासिन्दासँग गरिने सहकार्य आदिको विषयमा समेत प्रयोगात्मक अभ्यास गरिएको सहसेनानी काफ्लेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button