तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवा र लोसपाका नेताहरुबीच छलफल

फाइल तस्बिर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का नेताहरूले भेटवार्ता गरी आफ्ना मागको स्मरण गराउनुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज लोसपा अध्यक्ष महन्थ ठाकुर नेतृत्वमा गएको लोसपाको प्रतिनिधिमण्डलले यही जेठ २४ गते बुझाएको ११ बुँदे मागसहितको ज्ञापन पत्रबारे ध्यानाकर्षण गराएको हो ।

प्रधानमन्त्री समक्ष हालै बुझाएको मागको ‘फलोअप’ को रुपमा भेट गरी छलफल भएको लोसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । 

जवाफमा प्रधानमन्त्री देउवाले आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयक संसद्बाट पारित भए लगत्तै लोसपाका माग सम्बोधन गर्ने बचन दिनुभएको नेता कर्णले बताउनुभयो । “हामी (लोसपा)ले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनबारे फलोअप स्वरूप भेटघाट गरेका हौँ, बजेटपछि मागको सम्बोधन हुन्छ भन्नुभएको छ”, नेता कर्णले भन्नुभयो ।

लोसपाले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गरिनुपर्ने तथा आफ्ना नेता–कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग राख्दै प्रधानमन्त्री समक्ष ज्ञापन बुझाएको थियो । 

अध्यक्ष ठाकुरका साथमा नेताहरू राजेन्द्र महतो, शरदसिंह भण्डारी, कर्णलगायतका नेताहरू बालुवाटार पुग्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button