तपाईँ सुन्दै हुनुहुन्छः

आँबुखैरेनी–मुग्लिन खण्ड:  राति पनि सवारी साधन सञ्चालन 

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा रातिको समयमा पनि सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । 

आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएपछि शुक्रवार राति ७ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएकामा आइतबारदेखि उक्त अवरोध हटाइएको हो । 

रातिको समयमा यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रवार र शनिवार सो समयमा यातायात सञ्चालनमा रोक लगाएको थियो । आइतबार बेलुकादेखि उक्त अवरोध हटाएर  साना ठुला र हेभी सवारी साधनसमेत सञ्चालन गराइएको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालय दमौलीले सडक भासिएको कुनापट्टिबाट भित्ता काटिरहेको छ । उक्त सडक मर्मत नहुँदासम्म भासिएको खण्डमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ तर मुग्लिन पोखरा सडक खण्ड निर्माणका लागि याम्पाफाँट र घाँसीकुवा सडक खण्डमा राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन भने यसअघिको सूचनाअनुसार नै बन्द रहने प्रशासनले जनाएको छ । 

खोर राखियो
बन्दीपुर गाउँपालिका १ र ४ मा चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि चितुवा नियन्त्रणका लागि खोर राखिएको छ । शनिवार राति र आइतबार बिहान चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि डिभिजन वन कार्यालय तनहुँको सहयोगमा आइतबार बन्दीपुर–१ बाघदलेमा फलामे खोर राखिएको हो । 

बन्दीपुर–४ टावरमा चितुवाको आक्रमणबाट आठ वर्षीया रियाना थापा र बन्दीपुर –१ बागदलेमा भिमलाल गरञ्जा घाइते हुनुभएको छ । दुवै आक्रमणको घटना घरमै भएको हो । घाइतेको अवस्था खतरामुक्त रहेको छ । दुवै घाइतेको डुम्रेस्थित मोती मेडिकलमा उपचार गरिएको थियो ।

चितुवाको त्रास बढेपछि नियन्त्रणका लागि बाख्रासहितको खोर थापिएको बन्दीपुर–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

सतर्क रहन आग्रह
बन्दीपुरमा केही घण्टाको फरकमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि सतर्कता अपनाउन डिभिजन वन कार्यालयले आग्रह गरेको छ । दुवै आक्रमणको घटनास्थल २५० मिटर वरपर छ । 

एकचोटी आक्रमण गरेको चितुवाले पुनः आक्रमण गर्न सक्ने सम्भावना भएकाले सतर्क रहन कार्यालयले आग्रह गरेको छ । सहायक वन अधिकृत काशीराज पण्डितले उक्त चितुवाले फेरि मानिसलाई आक्रमण गर्ने सम्भावना भएकाले चितुवासँग जोगिन साँझ तथा रातको समयमा घर गोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गर्नुभयो । “चितुवासँग जोगिन साँझ तथा रातको समयमा घर गोठ उज्यालो बनाऔँ, झाडी सफा गरौँ, एक्लै नहिँडौँ”, उहाँले भन्नुभयो, “बच्चा तथा वृद्धहरूको विशेष ख्याल र रेखदेख गरौँ ।”

पछिल्लो केही वर्ष यता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ । मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले सिकार गरिदिँदा वनमा सिकारको अभाव भई चितुवाले मानिसको सिकार गर्न थालेको वनको भनाइ छ । “मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्नेतर्फ सबै लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

जङ्गल फँडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको छ । “तनहुँमा विशेष गरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्न सक्ने समय लगायतका विषयमा उपभोक्तालाई बेला–बेलामा जानकारी गराएका छौँ”, डिभिजन वन प्रमुख कोमलराज काफ्लेले भन्नुभयो, “चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ ।”

वन जङ्गलमा पाइने जीवजन्तु मानिसले सिकार गरेर खाइदिने गरेका कारण पनि चितुवाले बस्तीमा आएर मानिसलाई आक्रमण गर्न थालेको छ । चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै भए पनि त्यस्ता जीवजन्तु मानिसले खाइदिने गरेका कारण चितुवाको सिकार मानिस हुन थालेको अध्ययनबाट देखिएको छ ।

विसं २०७४ फागुन १ गते पहिलो पटक जिल्लामा भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । त्यसयता आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा एघार जना बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणमा पर्ने बालबालिका १२ वर्ष उमेरसम्मका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button