यथाशीघ्र मल उपलब्ध गर्ने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई सभामुखको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजित बजेटमाथि मन्त्रालयगत छलफल आज पनि जारी छ ।
यसअघि बैठकको शून्य समयमा बोल्दै सांसदहरुले खेतीको समयमा पनि कृषकहरूले मल प्राप्त नगरेको र रासायनिक मल तत्काल ल्याउनुपर्ने माग गरेपछि सभामुख अग्नि सापकोटाले आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो ।
सभामुख सापकोटाले कृषकहरूलाई यथाशीघ्र मल उपलब्ध गर्ने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालय, नेपाल सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सांसदहरू प्रेम सुवाल, दुर्गा पौडेले, कृष्णभक्त पोखरेल, शेर बहादुर तामाङ, भीम रावलले मन्त्रालयगत खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।
सांसदहरुले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सरकारी अस्पतालको सुधार गर्नुपर्ने, अस्पताल शय्या र पूर्वाधार र गुणस्तरीय सेवा हुनुपर्ने, स्वास्थ्य उपचार मंहगो हुँदै गएको, स्वास्थ्य बिमालाई व्यापार बन्न नहुने, गाँजाको औषधीय गुणलाई वैधानिक बनाउनुपर्ने, नेपालको परराष्ट्र नीतिलाई सन्तुलित बनाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
छलफलमा शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय अन्तर्गतको शीर्षकहरूमाथि सांसदहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ ।








प्रतिक्रिया राख्नुहोस्