तपाईँ सुन्दै हुनुहुन्छः

खाद्य प्रणालीको बढ्दो जोखिमलाई सम्बोधन गर्न नेपाली संस्थालाई सिजिआइएआरले सहयोग गर्ने

काठमाडौँ  । सिजिआइएआर र नेपालको अनुसन्धान तथा नवप्रवर्तनको कार्यसूचीबीच सुदृढ सम्बन्ध विकास गर्ने सहमति भएको छ ।

काठमाडौँमा सम्पन्न भएको उच्चस्तरीय बैठकमा खाद्य प्रणालीप्रति बढ्दो जोखिमलाई सम्बोधन गर्न नेपाली संस्थाहरूलाई सहयोग गर्ने गरी सिजिआइएआर र नेपालको अनुसन्धान तथा नवप्रवर्तनको कार्यसूचीबीच सुदृढ सम्बन्ध विकास गर्ने सहमति भएको हो । 

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सुरेन्द्र लभ कर्णले पानीबिना कृषिको रूपान्तरण सम्भव नहुने बताउनुहुँदै नेपालले विभिन्न प्राकृतिक विपद्को सामना गरेको र यसले गर्दा विकासको प्रक्रियामा पनि ढिलाइ भएको विचार राख्नुभयो । 

“जलवायुसम्बन्धी समस्याहरूको समाधान गर्ने एकीकृत परिकल्पना तथा नवप्रवर्तनसहितको अनुसन्धान आफैँमा प्रशंसनीय कार्य हो र यसले नेपाललाई, विशेष गरी नेपालका ग्रामीण क्षेत्रहरूलाई, प्रगतिको पथमा उकालो लाग्न सहयोग गर्नेछ ।” उहाँले भन्नुभयो । 

नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा.दीपक भण्डारीले नेपालको अर्थतन्त्रलाई बढावा दिनका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ भन्नुहुँदै नेपाल आयातित कृषि उपजमा निर्भर रहेकाले आयातमा लाग्ने प्रतिबन्धका बारेमा गम्भीर छलफल गरिनुपर्ने बताउनुभयो 

सिजिआइएआरका उत्थानशील कृषि खाद्य प्रणाली, विश्वव्यापी विज्ञान निर्देशक, डा.मार्टिन क्रफले नेपाल तथा दक्षिण एशियाका सिजिआइएआरका साझेदारहरूलाई धन्यवाद दिँदै विज्ञता, प्रतिबद्धता र सहकार्यका लागि यस क्षेत्रमा खाद्य, जमिन तथा जल प्रणालीको रूपान्तरणका लागि एकदमै महत्त्वपूर्ण भएको बताउनुभयो ।  

कार्यक्रम नेपालमा भएका सिजिआइएआरका अनुसन्धान केन्द्र र कृषि अनुसन्धान केन्द्र, जलस्रोत तथा सिँचाइ विभागलगायतका राष्ट्रिय सरकारी साझेदारहरूले संयुक्त रूपमा आयोजना गरिएको थियो । 

सिजिआइएआर खाद्य सुरक्षासहितको भविष्यका लागि विश्वव्यापी अनुसन्धान साझेदारी हो । यसले गर्ने अनुसन्धानहरू राष्ट्रिय र क्षेत्रीय अनुसन्धान संस्था, नागरिक संस्था, प्राज्ञिक संस्था, विकास साझेदार र निजी क्षेत्रसहितका सयौँ साझेदारहरूसँगको सहकार्यमा १३ वटा सिजिआइएआर केन्द्र÷सङ्गठनहरूले गर्दै आएका छन् ।  

त्यस्तै, काठमाडौँमा सम्पन्न भएको सिजिआइएआर अनुसन्धान कार्यक्रम परिचय तथा सरोकारवाला संवाद कार्यक्रममा जलवायु परिवर्तनको क्षेत्रमा निर्दिष्ट, महत्त्वाकाङ्क्षी अपेक्षित उपलब्धिसहित ठोस अनुसन्धान तथा नवप्रवर्तनको कार्यसूचीको सुरुवात पनि भएको छ । 

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद्, र नेपालको कृषि तथा वन विश्वविद्यालय, कृषि विभाग, राष्ट्रिय योजना आयोग, प्राज्ञिक तथा अनुसन्धान संस्था, विकास साझेदार र नागरिक संस्थाका प्रतिनिधिहरू सहभागी हुनुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button