दलित छात्रको पठनपाठनको जिम्मेवारी गुरुकुलले लिने
काठमाडौँ । ललितपुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकुलमा दलित समुदायका भएकै कारण भर्ना नपाएका चार छात्रले अब महोत्तरीको मटिहानीस्थित गुरुकुलमा पढ्न पाउने भएका छन् ।
दलित भएकै कारण भर्ना नपाएको भन्ने समाचार आएपछि मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयले बर्दियाको बारबर्दिया–६ का चार दलित परिवारका छात्रको पठनपाठनको जिम्मेवारी लिने भएको हो । ललितपुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकुलमा भर्ना नपाएका १० वर्षीय समीर सुनार, १२ वर्षीय विराज सुनार, नौ वर्षीय भुवेश्वर सुनार र १० वर्षीय भीमबहादुर सुनारले अब मटिहानी गुरुकुलमा भर्ना पाउने भएका हुन् ।
“बर्दियाका चार छात्रको ललितपुर गुरुकुलमा भर्ना हुन नसकेको सञ्चारमाध्यममा देखियो”, मटिहानीस्थित गुरुकुल राजकीय संस्कृत माविका प्राचार्य ईश्वरीप्रसाद पौडेलले भन्नुभयो, “हामी ती चारै छात्रको बसोबास, खानपान र पठनपाठनको जिम्मा लिन्छौँ ।” दलित छात्र र उनीहरूका अभिभावकको पढ्ने÷पढाउने रहरको सम्मान गर्दै चारै छात्रको स्वागतका लागि आफ्नो गुरुकुल पर्खिरहेको पौडेलको भनाइ छ ।
आजभन्दा ३०४ वर्ष पहिले स्थापित मुलुककै जेठो गुरुकुल मानिने मटिहानीमा बालगुरु षडाननले पनि शिक्षा लिनुभएको थियो । गुरुकुलमा अहिले हिन्दु धर्म परम्पराका दलितमात्र नभएर इस्लाम धर्मावलम्बी छात्र पनि पढ्दैछन् । “कोही जन्मले सुद्र वा ब्राह्मण हुँदैनन्, सबै कर्मले उच्च हुन सक्छन्, त्यसैले हाम्रो गुरुकुलमा सबै जातजाति र समुदायले उत्तिकै सम्मानसाथ प्रवेश पाउँछन्”, पौडेलले भन्नुभयो ।
ललितपुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकुलमा सिट सङ्ख्या पूरा भएको भन्दै भर्ना लिन नसक्ने जनाए पनि सो गुरुकुलमा हाल ३३ मात्र छात्र रहेको बताइएको छ । सो गुरुकुलको वेबसाइटमा सिट सङ्ख्या ५० रहेको पाइन्छ ।
भर्नाका लागि केश मुण्डन र व्रतबन्ध गरी सकेपछि जातथर सोध्दा आफूले नढाँटी बताएपछि गुरुकुलका प्राचार्यले घर जान भनेको जनाइएको छ । रासस






प्रतिक्रिया राख्नुहोस्