मकवानपुर गोल्ड कप : घरेलु टोली विजय यूथ क्लब सेमिफाइनलमा

मकवानपुर । हेटौँडामा जारी चौथो संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्ड कप फुटबल प्रतियोगितामा घरेलु टोली विजय यूथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
हेटौँडा–५ स्थित पिप्ले क्याम्पा रङ्गशालामा आज बिहान भएको खेलमा बाराको नव जनजागृति युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोस्रो हाफमा विजय यूथले तीन गोल गर्दै अन्तिम चारमा स्थान पक्का गर्न सफल भयो । विजय युथलाई सहज जित दिलाउन अमिर श्रेष्ठ, सञ्जोक राई र सुनिल घलानले एक–एक गोल गरेका थिए । उत्कृष्ट खेल प्रदर्शन गर्दै विजय यूथका सुनिल घलान म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार सहित ट्रफि हात पारे । अब फाइनल प्रवेशको लागि विजय यूथले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।
नव जनजागृति क्लबले यसअघि बागमती युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटर फाईलनमा विजय यूथसँगको भेट पक्का गरेको थिया भने, घरेलु टोली विजय यूथ सिधै क्वाटर फाइनलमा स्थान पाएको थियो । प्रतियोगिता अन्तरगत आज दिउँसो ४ बजे अन्तर्राष्ट्रिय क्लब एनिनियर एफसी क्यामरुन र चर्चव्वाईज क्लब काठमाण्डौबीच खेल हुँदै छ ।
मकवानपुरको १० पालिकाको आर्थिक सहयोग र जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगितामा विजेताले १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् ।
यस्तै विधागत उत्कृट हुने प्रशिक्षक सहित ६ खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइलक प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्