तपाईँ सुन्दै हुनुहुन्छः

जिसस बझाङको निर्वाचनका लागि बोहराको एकल उम्मेदवारी दर्ता

बझाङ । यही जेठ २९ गते हुने जिल्ला समन्वय समिति बझाङको निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र (उम्मेदवारी) दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिससको प्रमुख, उपप्रमुख र सदस्य पदमा उम्मेदवारको मनोनयन पत्र दर्ता भएको हो ।

सहायक निर्वाचन अधिकृत नरेन्द्र शर्माले जिल्ला समन्वय समितिको प्रमुख पदमा नेपाली काँग्रेसका नर बहादुर बोहराको मात्रै एकल उम्मेदवारी दर्ता भएको बताउनुभयो । यस्तै उप–प्रमुखमा पनि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका कृष्ण बहादुर विष्टको एकल उम्मेदवारी परेको उहाँले जानकारी दिनुभयो ।

महिला सदस्यमा नेपाली काँग्रेसकी अस्मिता देवि चदारा, बाटुली देवि ओड र एकीकृत समाजवादीबाट लक्ष्मी देवि कामीको उम्मेदवारी परेको छ । त्यस्तै खुल्ला सदस्यमा काँग्रेसका गौरीशङ्कर जोशी, टोप बहादुर खड्का र माओवादी केन्द्रबाट गोरख बहादुर सिंहको उम्मेदवारी परेको छ । यस्तै दलित सदस्यमा नेपाली काँग्रेसकी रिता कामीको उम्मेदवारी परेको छ ।

जिल्ला समन्वय समिति बझाङको निर्वाचनमा सत्ता गठबन्धनको मात्रै उम्मेदवारी परेको छ । जसमा (काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी)को मात्रै उम्मेदवारी परेको हो । १२ पालिका रहेको बझाङमा २४ मतदाता रहेका छन् । काँग्रेसको ११, एकीकृत समाजवादीको ३, एमालेको ५ र माओवादी केन्द्रको ५ मतभार रहेको छ ।

जिससको प्रमुख, उपप्रमुख र ७ सदस्य पदका लागि जेठ २९ गते मतदान गर्ने कार्यक्रमको रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button