स्वीटजरल्याण्ड सरकारले नेपाललाई करिब ८६ करोड सहयोग गर्ने
काठमाडौँ । स्वीटजरल्याण्ड सरकारले नेपाललाई करिब ८६ करोड रुपैयाँ बराबरको सहयोग प्रदान गर्ने भएको छ ।
सहयोग सम्बन्धी सम्झौता पत्रमा बुधवार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रमबिच अर्थ मन्त्रालय वैदेशिक सहयोग समन्वय महाशाखा प्रमुख सहसचिव ईश्वरीप्रसाद अर्याल र नेपालस्थित स्विस दूतावासकी चार्ज डि एफियर्स सिल्भान हगले हस्ताक्षर गर्नुभयो ।

सहयोग रकम नेपाल फर्केका नेपाली आप्रवासी कामदारहरूलाई नेपाली समाजमा पुनर्स्थापना गर्नका लागि स्थापना भएको परियोजना रेमिको कार्यान्वयनका लागि खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ ।
परियोजनाले वैदेशिक रोजगारीबाट नेपाल फर्किएका व्यक्तिहरूको ज्ञान र सीपको प्रयोग गरी उनीहरूलाई समाजमा स्थापित गर्न सहयोग गर्नेछ । परियोजना अन्तर्गत उनीहरूले विदेशमा सिकेको ज्ञान र सीपको प्रयोग गरेर समाजको परिवर्तनमा सहयोग गर्ने तथा उनीहरू सामाजिक राजनीतिक, आर्थिक सांस्कृतिक रुपमा स्थापित गर्ने कार्यमा पनि सहयोग गर्नेछ ।

रेमि परियोजना नेपालको प्रदेश नम्बर १ र मधेस प्रदेशका २० स्थानीय तहहरूमा स्थानीय निकायहरू मार्फत यही २०२२ जुलाई बाट सञ्चालन हुनेछ । हस्ताक्षर कार्यक्रममा सहसचिव ईश्वरीप्रसाद अर्यालले परियोजनाले आप्रवासी कामदार भई नेपालमा फर्केकाहरूलाई समाजमा पुनर्स्थापना गर्न महत्त्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।
स्विस राजदूतावासकी चार्ज डि एफियर्स सिल्भान हगले स्वीटजरल्याण्ड सरकार नेपालमा आप्रवासी कामदारहरूलाई पुनर्स्थापित गर्ने काममा नीतिगत सहयोग गर्दै आएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्