तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभामा विभिन्न आयोग तथा महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय सूचना आयोग र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश भएको छ । 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट परराष्ट्र मन्त्री डा.नारायण खड्काले समावेशी आयोग, आदिवासी जनजाति आयोग सूचना आयोग र महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०७७/७८ वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । 

यसअघि, बैठकको विशेष समयमा बोल्दै सांसद नन्दा चपाईले सरकारले बजेटमा कृषि उत्पादनमा जोड दिने लक्ष्य राखेको भए पनि किसानले समयमै मल बिउ उपलब्ध गराउन नसक्दा वर्षेनी खाद्यवस्तुको आयात बढ्दै गएको बताउनुभयो । 

सांसद जितेन्द्रनारायण देवले सरकार परिवर्तन हुनासाथ नेपालको परराष्ट्र नीति पनि परिवर्तन हुन्छ की भन्ने आशङ्का अन्त्य हुनुपर्ने बताउनुभयो । 

सांसद खिमलाल भट्टराईले किसानले समयमै मल प्राप्त गर्न नसक्दा देशको समग्र आर्थिक विकास प्रभावित हुने बताउनुभयो । 

यस्तै, बैठकको शून्य समयमा बोल्दै सांसद जयन्तीदेवी राईले दार्चुलामा महिलालाई जिउँदै जलाएर मारिएको घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्न माग गर्नुभयो ।

सांसद नरबहादुर विष्टले सामाजिक सञ्जालको दुरुपयोग गरी अश्लीलता फैलाउने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।

राष्ट्रियसभाको अर्को बैठक भोलि बिहीबार दिउँसो १ः०० बजे पुनः बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button