जिल्ला समन्वय समिति दाङमा काँग्रेस र माओवादीको गठबन्धन

दाङ । जिल्ला समन्वय समिति दाङको नेतृत्वका लागि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको छ ।
दाङमा नेपाली काँग्रेस र माओवादी केन्द्रको बहुमत भएपछि गठबन्धन गरेका हुन् ।
जस अनुसार नेपाली काँग्रेसका तर्फबाट जिल्ला समन्वय समितिको प्रमुखमा राप्ती गाउँपालिका ७ का नित्यानन्द शर्मा र उपप्रमुखमा नेपाली काँग्रेसका तर्फबाट बबई गाउँपालिका ७ की चेतना चौधरीले उम्मेदवारी दिनुभएको छ ।
यस्तै नेपाली काँग्रेसका तर्फबाट जिल्ला समन्वय समितिको सदस्यका लागि कल्पना सेर्पाइली, कुलबहादुर बुढा मगरले खुल्ला सदस्य पदमा उम्मेदवारी दिनुभएको छ भने नेकपा नेकपा माओवादी केन्द्रका तर्फबाट खुल्ला सदस्यमा टोपाराम चौधरीले उम्मेदवारी दिनुभएको छ ।
यस्तै महिला सदस्य पदमा नेपाली काँग्रेसका तर्फबाट जुनकुमारी बुढा, हरिदेबी पोखरेल र केन्द्रका तर्फबाट दुर्पति चौधरीले महिला सदस्य पदमा उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै दलित महिला सदस्य पदमा नेपाली काँग्रेसका तर्फबाट सरस्वती नेपालीले उम्मेदवारी दिनुभएको छ ।
नेकपा एमालेले भने जिल्ला समन्वय समितिको नेतृत्वका लागि उम्मेदवारी नदिएको जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले जानकारी दिनुभएको छ ।
दाङमा रहेका १० स्थानीय तहमा प्रमुख र उपप्रमुख पदमा एमालेका तर्फबाट ५ रहेका छन् भने नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका १५ रहेका छन् ।
नेपाली काँग्रेसका तर्फबाट बबई, शान्तिनगर, दंगीशरण र राजपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष यस्तै लमही नगरपालिकामा मेयर र उपमेयर त्यस्तै गढवा र बंगलाचुली गाउँपालिकामा उपाध्यक्ष गरी १२ पद जितेको छ भने नेकपा माओवादी केन्द्रले बंगलाचुली, राप्ती र गढवा गाउँपालिकामा अध्यक्ष जितेर ३ मत कायम राखेको छ ।
यस्तै नेकपा एमालेले भने तुलसीपुर र घोराही उपमहानगरपालिकामा मेयर र उपमेयर तथा राप्ती गाउँपालिकामा उपाध्यक्ष गरी ५ मत सुरक्षित राखेको छ ।








प्रतिक्रिया राख्नुहोस्