तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्न : काठमाडौँको फोहोर कहिले उठ्छ ?

काठमाडौँ । सांसदहरुले काठमाडौँमा लामो समयदेखि थुप्रिएको फोहोरबाट सङ्क्रामक रोग फैलन सक्ने भन्दै तत्काल फोहोर व्यवस्थापन गर्न सरकारसँग माग गर्नुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरू कृष्णगोपाल श्रेष्ठ र यज्ञबहादुर बोगटीले  काठमाडौँमा थुप्रिएको फोहोरबाट सुरुवा रोग फैलने डरले काठमाडौँ महानगरपालिकाले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन भित्रभित्रै सर्कुलर जारी गरेको भन्नुहुँदै तत्काल सरकारले काठमाडौँको फोहोर व्यवस्थापन नगरे काठमाडौँका जनता चुप लागेर नबस्ने बताउनुभयो । 

यसैगरी, आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरू अम्रेशकुमार सिंह, अमृता थापा मगर, आशा विक, कृष्णभक्त पोखरेल, गगनकुमार थापालगायतले समाजमा महिला तथा किशोरीमाथि बढेको हिंसा तत्काल रोक्न माग गर्नुभयो । 

उहाँहरूले किसानले समयमा मल नपाएको, विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

बैठकको शून्य समयमा  सांसदहरुले समसामयिक विषयमा बोल्ने क्रम जारी छ । 

आजको बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजित बजेटमाथि मन्त्रालयगत छलफल हुने कार्यसूची रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button