तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा रोपाइँको चटारो : मार्सी धान खेतीको क्षेत्र घट्दै

छुमचौरमा मार्सी धान रोप्दै महिला किसान । तस्बिर: सागर परियार ।

जुम्ला  । जुम्लामा जेठ पहिलो सातादेखि मार्सी धान रोपाइँको चटारो सुरु भएको छ । 

जिल्लाको सिञ्जा, पानसय, असी र चौधबीस भेगका जुम्ली किसान मार्सी धान रोपाइँमै व्यस्त देखिन्छन् । 

हाल जुम्लाको आठै तहको करिब ३० प्रतिशत मार्सी धान रोपाई सकिएको छ । यद्यपि जुम्लामा असार पहिलो सातासम्म जुम्लामा रोपाई चलिरहन्छ । 

जुम्लाको आर्थिक समृद्धिसँगै कर्णाली ब्राण्डका रुपमा बजारीकरण भइरहेको मार्सी धान खेतीको क्षेत्र भने घट्दै गएको कृषि विज्ञहरू बताउनुहुन्छ । कार्तिक पहिलो साता बेमौसमी वर्षासँगै आएको बाढीले तिला र तातोपानीको १८ हेक्टर मार्सी फाँटमा क्षति हुनु, मार्सी फाँटमा निर्माण प्रक्रिया बढ्दै जानु, मार्सी फल्ने खेतको बिक्री बढ्नु र सिँचाई सुविधाको अभावले जुम्लामा मार्सी धान खेतीको क्षेत्र घट्दै गएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताउनुभयो । 

“मार्सी धान उत्पादन वृद्धि गर्ने र क्षेत्र विस्तार गर्ने हाम्रो लक्ष्य हो । तर प्राकृतिक प्रकोप र मार्सी उत्पादन हुने खेतहरू मनपरी खरिद बिक्री हुनु र खेतमै घर निर्माण प्रक्रिया बढ्दै जाँदा मार्सी खेतीको क्षेत्र घटेको छ ।”, उहाँले भन्नुभयो । 

हाल जुम्लाको २८ सय हेक्टरमा धानखेती भइरहेको छ । जसमध्ये मार्सी धान १ हजार हेक्टर र उन्नत जातको चन्दननाथ–१, चन्दननाथ–२ र लेकाली धान १८ सय हेक्टरमा खेती भइरहेको छ । 

विगतको तुलनामा मार्सी धान उत्पादन र क्षेत्र ह्वात्तै घटे पनि कतिले घटेको छ भन्ने एकिन तथ्याङ्क कुनै निकायसँगै छैन । मार्सी उत्पादन हुने खेतमा पक्की घर ठडिएका छन् । बाढीले डुबानमा परेका मार्सी फाँट ज्युँका त्युँ छन् । मार्सी धान खेतीको क्षेत्र विस्तार गर्ने उत्पादन बढाउन लक्ष्य प्राप्तिका लागि प्रदेश र स्थानीय तहको ठोस नीति बन्न आवश्यक रहेको नागरिक अगुवा राज बहादुर महत बताउनुहुन्छ ।  “बाढीले डुबानमा परेका खेतमा बालुवा भरिएका छन् । खेततिर हेर्दा मन भक्कानिएर आउँछ ।”, उहाँले भन्नुभयो । 

तातोपानी गाउँपालिका –२ का किसान दत्त बुढाले भन्नुभयो, “राहत पाउने आशामै ८ महिना बित्यो । अझै कतैबाट पाएनौ । खेतमा बालुवा भरिएको छ । कात्तिकमा भित्राउन लागेको धान बाढीले बगायो । बिउ राख्ने धान पनि छैन । किसानका समस्या प्रति सरोकारवाला गम्भीर देखिएनन् ।” 

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले किसानको राहतका लागि १९ लाख आवश्यक रहेकोमा गृहले ५ लाख मात्रै पठाएको बताउनुभयो । बाढीले क्षति व्यहोरेका १२ सय किसानलाई राहत रकम अपुग भएकोले थप १४ लाख रकम प्रदेश हुँदै अर्थमा माग गरिएको र छिटै निकासा हुने आश्वासन भएको प्रजिअ प्रसाईँले जानकारी दिनुभयो । 

कृषि अनुसन्धान केन्द्र (नार्क) ले विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौर ज्युलोमा १२ वर्षदेखि अनुसन्धान गरेको उन्नत जातको मार्सीको बिउ रोपेको छ । उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ उन्नत जातको बिउ रोपेको हो । 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button