तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख सापकोटा र डेनिस प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेको डेनिस प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट भएको छ ।

संसद् भवन नयाँबानेश्वरस्थित शङ्कर हलमा आज भएको भेटमा सभामुख सापकोटाले नेपाल र डेनमार्कबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५५ वर्षमा दुई देशबिचको सम्बन्ध सुमधुर रहेको बताउनुभयो । उहाँले शिक्षा, ऊर्जा, सुशासन र विकेन्द्रीकरणको क्षेत्रमा डेनमार्कले गरेको सहयोगका लागि डेनिस सरकार र जनतालाई धन्यवाद ज्ञापन गर्नुभयो ।

सभामुख सापकोटाले डेनमार्क सुशासनका लागि चर्चित र स्थापित रहेको चर्चा गर्दै यसबाट नेपालले पनि सिक्न चाहेको बताउनुभयो । ‘राजनीतिक, भाषिक, सांस्कृतिक हिसाबले छिमेकीसँग राम्रो सम्बन्ध राख्न सफल डेनमार्कका सकारात्मक कुराहरू हामी सिक्न चाहन्छौँ’ उहाँले भन्नुभयो ।

नेपालका राजनीतिक दलसँग सहकार्य गर्ने प्रतिनिधिमण्डलको प्रस्ताव सकारात्मक रहेको बताउँदै सभामुख सापकोटाले दुई देशबिच जनताको तहसम्म सम्बन्ध विस्तार गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले सुशासन, जलवायु परिवर्तन, व्यापार र पर्यटनका क्षेत्रमा सहकार्यको सम्भावना औँल्याउँदै नेपालको विकासमा डेनमार्कको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा प्रतिनिधिमण्डलका प्रमुख ‘डेनिस इन्स्टिच्युट फर पार्टीज एण्ड डेमोक्रेसी’ (डी आइ पी डी) का कार्यकारी निर्देशक Lisbeth Pilegaard ले आफ्नो टिमसँग छलफलको समयका लागि आभार व्यक्त गर्नुभयो । उहाँले डेनमार्कको संसद्को संस्था डी आइ पी डिले लोकतन्त्र र राजनीतिक दलहरूसँग सहकार्य गर्दै आएको र नेपालमा बताउनुभयो । उहाँले डिआइपिडिले नेपालका राजनीतिक दलहरूसँग सहकार्य गर्न चाहेको बताउँदै जलवायु परिवर्तनको विषयमा सहकार्यका लागि छलफल गर्ने जानकारी दिनुभयो । समुन्द्रले घेरिएको देश डेनमार्कका नागरिक हिमालले घेरिएको नेपाल घुम्ने चाहना राख्ने गरेको उहाँको भनाई थियो ।

प्रतिनिधिमण्डलमा सहभागी डेनमार्कको सोसल लिबरल पार्टीकी नेतृ Clara Halvorsen ले डेनमार्क नेपालका युवाहरूसँग काम गर्न इच्छुक रहेको बताउनुभयो । प्रतिनिधिमण्डलमा (डी आइ पी डी) का कार्यकारी निर्देशक Lisbeth Pilegaard, सोसल लिबरल पार्टीकी नेतृ Clara Halvorsen, डिआइपिडका सहयोग र विकास प्रमुख Mathias Parsbaek Skibdal र नेपाल प्रनिनिधि सृष्टि राणा सहभागी हुनुहुन्थ्यो । भेट अघि प्रतिनिधि मण्डलले सङ्घीय संसद् भवनमा सभा सञ्चालनको अवलोकन समेत गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button