अष्ट्रेलियाको ग्यास संकटका लागि पूर्व सरकार जिम्मेवार : ऊर्जामन्त्री
क्यानबेरा। अष्ट्रेलियाको ग्यास सङ्कटका लागि पूर्व सरकार दोषी रहेको दावी यहाँका ऊर्जामन्त्री क्रिस बोवेनले आइतबार गर्नुभएको छ ।
अघिल्लो सरकार अन्तर्गत नौ वर्षको समयमा उर्जाशक्ति व्यवस्थापनका सन्दर्भमा आफ्नो मुलुक कमजोर बनेको बोवेनले बताउनुभयो ।
हिउँदको बढ्दो माग, ग्यासको अभाव र कोइलाबाट निकालिएका विद्युत् केन्द्रहरूले अघोषितरूपमा आपूर्तिलाई अवरूद्ध पार्ने गरेकाले अस्ट्रेलियालीहरूले ग्यास र बिजुलीको बढ्दो मूल्यको सामना गरिरहेका उहाँले बताउनुभयो ।
सन् २०१७ मा बनेको तत्कालिन गठबन्धन सरकारले ‘ग्यास सङ्कट’ निम्त्याउने गरी कानुन बनाई घरेलु प्रयोजनका लागि तोकिएको प्राकृतिक ग्यास (एलएनजी) लाई अन्य बजारका लागि अनुमति दिँदा विद्यमान् सङ्कट देखा परेको उहाँको भनाई थियो ।
बोवेन भन्नुभयो, “यो प्रणाली राम्रोसँग डिजाइन गरिएको छैन र यसलाई सम्बोधन गर्ने काम तुरुन्तै सुरु भए तापनि यसको असर जनवरी १ पहिले आउन कठिन हुनेछ ।”
अस्टेलियाका उर्जामन्त्री बोवेनले संकट समाधान गर्न राज्य र इलाकाका राजनीतिक तथा सरकारी नेतृत्वसँग छलफल चलिरहेको र यसको समाधानको प्रयास गरिरहेको बताउनुभयो ।
संसाधन मन्त्री माडेलिन किङले आपूर्ति बढाउन ग्यास उद्योगहरूसँग पनि छलफल भइरहेको बताउनुभयो ।
यसैबीच विपक्षी दलका नयाँ नेता पिटर डटनले यस संकटप्रतिको बोवेनको प्रतिक्रियाले सरकारमा लेबर पार्टीको अनुभवहीनता प्रदर्शन भइरहेको दावी गर्नुभएको छ ।
“अहिले कुन बाटो जाने हो, तिनीहरूलाई थाह छैन । उनीहरूले समस्या थाहा पाउन पाउन धेरै समय लाग्नेछ र यसका कारण अष्ट्रेलियालीले उर्जा सङ्कटको समस्याबाट पिडित हुनुपर्नेछ ।”सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्