चलचित्र पत्रकार सङ्घ मकवानपुरद्वारा पत्रकार र कलाकर्मी सम्मानित

मकवानपुर । चलचित्र पत्रकार सङ्घ मकवानपुरले आइतबार पत्रकार तथा कलाकर्मीलाई गरी ७ जनालाई एकसाथ सम्मान गरेको छ । सङ्घले आइतबार आज हेटौँडामा एक कार्यक्रमको आयोजना गरेर चार जना पत्रकार र तीन जना कलाकर्मीलाई नगदसहित सम्मान गरेको हो ।
सङ्घले हरेक वर्ष जेठ ७ गते चलचित्र पत्रकारिता दिवसमा गर्ने सम्मान कार्यक्रम स्थानीय तह निर्वाचनका कारण यो वर्ष ढिला भएको हो । सङ्घले राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०७७ बाट विदुर गिरी, चलचित्र पत्रकारिता पुरस्कार–२०७७ बाट पत्रकार महासङ्घ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाललाई सम्मान गरेको छ । गिरीलाई १० हजार र दाहाललाई पाँच हजार नगद राशिसहित सम्मान गरिएको हो ।

यस्तै चलचित्र कलाकर्मी सम्मान–२०७७ बाट प्रेम भोम्जन (पुष्कर लामा), चलचित्र पत्रकारिता पुरस्कार–२०७८ बाट नयाँ पत्रिका दैनिकका ब्युरो प्रमुख दीपक अधिकारी, चलचित्र कलाकर्मी सम्मान–२०७८ बाट अभिनेता राज कटुवाल, चलचित्र पत्रकारिता पुरस्कार–२०७९ बाट दीपज्योति थापा र चलचित्र कलाकर्मी सम्मान–२०७९ बाट चलचित्र लेखक तथा निर्देशक शिवम अधिकारीलाई सम्मान गरेको छ । उहाँहरूलाई नगद ५/५ हजार राशिसहित सम्मान गरिएको हो ।
चलचित्र पत्रकार सङ्घ मकवानपुरका अध्यक्ष कपिल खड्काको सभाध्यक्षमा भएको कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मन्त्री श्रेष्ठले घुमफिर वर्ष २०७९ मनाउने घोषणा पश्चात् चलचित्र क्षेत्रको माध्यमबाट पर्यटन विकास हुने बताउनुभयो । चलचित्रका क्षेत्रमा नीति तथा कार्यक्रम पर्याप्त समावेश गरिएको बताउनुहुँदै बजेट विनियोजन गरी कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुनिल खड्का, बागमती प्रदेश समितिका महासचिव कृष्ण सारू मगर, चलचित्र पत्रकार सङ्घ मकवानपुरका संस्थापक अध्यक्ष कुमार अधिकारी, ब्रोकास्टिङ एसोसिएसन अफ नेपालका उपाध्यक्ष उज्ज्वल चौलागाई, एनएस सिनेमाका प्रबन्धक नवराज आचार्य, मकवानपुरका कलाकार सुशान्त कुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्