जनसङ्ख्या र प्रकृति बीच सन्तुलन मिलाउन प्रकृतिमैत्री चिन्तन र प्रविधि आवश्यक : राष्ट्रपति

आज जुन ५ तारिख, विश्व वातावरण दिवस । संयुक्त राष्ट्रसंघले सन् १९७२ को जुन ५ देखि १६ सम्म स्वीडेनको स्टकहोममा मानव र विश्व वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय शिखर सम्मेलन आयोजना गर्यो । त्यसको दुई वर्षपछि जुन ५ कै दिन पहिलो विश्व वातावरण दिवस मनाइयो, जसको मूल नारा थियो, एक पृथ्वी !
पृथ्वीको अस्तित्व जोगाउन सम्पूर्ण मानव सभ्यता एक हुनुपर्छ भन्ने भावनाको बीजारोपण गर्न उक्त दिवस सफल रहेको अनुभव बाट त्यसपछि हरेक वर्ष संसारभर विश्व वातावरण दिवस मनाउन थालियो । यस वर्षपनि सोही नाराका आज विश्व वातावरण दिवस मनाइंदैछ । वातावरण संरक्षण र जलवायु परिवर्तन सम्बन्धी नेपालको आवाजलाई हाम्रा स्थानीय तहदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत मुखरित गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले नेतृत्वदायी भूमिका खेल्दै आउनुभएको छ । उहाँ करिब २५ वर्ष अघि नै नेपालको वातावरण मन्त्री रहिसक्नुभएको छ र त्यसैबेलादेखि प्रकृति संरक्षण, महिला सहभागिता, शिक्षा, स्वास्थ्य, सरसफाइ जस्ता जनसरोकारका क्षेत्रमा नीतिगत एवं अभ्यासगत सुधारको नेतृत्व गरिरहनु भएको छ । यसै अवसरमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवस २०२२ का अवसरमा रेडियो नेपालका कार्यक्रम महाशाखा प्रमुख नवराज लम्साल र मुख्य सम्वाददाता प्रमोद दाहाललाई दिनुभएको विशेष अन्तर्वार्ता :
सम्माननीय राष्ट्रपतिज्यू, अन्तर्वार्ताको लागि समय उपलब्ध गराउनुभएकोमा हार्दिक धन्यवाद । रेडियो नेपालमा यहाँलाई स्वागत छ ।
-सम्पूर्ण रेडियो नेपाल परिवारलाई मेरो धन्यवाद छ । र, सबै रेडियो नेपालका सबै श्रोताहरूमा मेरो नमस्कार ।
विश्व वातावरण दिवस हामी हरेक वर्ष मनाउँदै आइरहेका छौँ । यस वर्ष यो दिवस किन विशेष छ रु नेपालका लागि यस दिवसको सान्दर्भिकता के हो ?
-विश्व वातावरण दिवसले मानवीय गतिविधिबाट प्रकृतिको सन्तुलनमा उत्पन्न प्रभावका बारेमा जनचेतना जगाउँछ र हामीलाई पृथ्वीको रक्षाका लागि उत्प्रेरित गर्दछ ।
-त्यसैले, यस वर्ष मात्र होइन, सधैँ यस दिवसको उत्तिकै महत्त्व हुन्छ ।
-हामी यस वर्ष किन अझ संवेदनशील बन्नुपरेको छ भने केही महिनाअघि मात्र संयुक्त राष्ट्र सङ्घको अग्रसरतामा भएको वैज्ञानिक अनुसन्धानले अब हामी जलवायु सङ्कटतिर प्रवेश गर्न थालेका छौँ भन्ने निष्कर्ष निकालेको छ । यसलाई मैले खतराको घण्टी बजाइएको अर्थमा लिएको छु । सम्पूर्ण विश्वले नै जलवायु परिवर्तनलाई ठूलो चिन्ता र चासोपूर्वक हेरिरहेको छ । नेपाल पनि जलवायु परिवर्तनबाट प्रभावित राष्ट्रहरू मध्ये एक भएकाले हाम्रो संवेदनशीलता बढ्नु स्वाभाविक हो ।
जलवायु परिवर्तनले नेपाललाई असाध्यै प्रभावित गरेको छ । हाम्रो पर्वतीय मुलुक, यहाँका जनताको जीवन यसबाट प्रभावित छ । राष्ट्रपतिज्यूले यसलाई कसरी हेरिरहनु भएको छ ?
-तपाईँले ठिक प्रश्न उठाउनुभयो । जलवायु परिवर्तनमा नेपालको ज्यादै न्यून भूमिका छ । तर हामी जलवायु परिवर्तनको जोखिममा रहेको राष्ट्र हौँ । पृथ्वीको तापक्रममा भएको वृद्धिका कारण हाम्रा हिमाल र हिमनदीहरू पग्लिरहेका छन् । मध्य पहाडी क्षेत्रमा पानीका मूलहरू सुक्दै गएका छन् । चुरे क्षेत्रमा गेग्रेन थुप्रिँदै गएकाले मरुभूमिकरणको खतरा बढेको छ । उपत्यका र तराइ क्षेत्रमा भूमिगत पानीको सतह पनि घट्ने क्रममा रहेको छ ।
अतिवृष्टि, अनावृष्टिको अनुपात बढेको छ । यसको नकारात्मक प्रभाव हाम्रो खाद्य प्रणालीमा देखिँदैछ । त्यसकारण खाद्य सुरक्षाका लागि जलवायु परिवर्तनलाई थेग्नसक्ने कृषि प्रणालीको विकास गर्नु आवश्यक छ ।
-अर्कोतिर कतिपय टापु राष्ट्रहरू समुद्रको सतह बढ्दै जाँदा अस्तित्व मेटिने खतरामा छन् । यसको कारण के हो भने ध्रुवीय क्षेत्र र हिमालयको हिउँ पग्लेर समुद्र सतह बढ्नुका साथै सामुद्रिक तापक्रममा समेत वृद्धि भइरहेको छ । यसै कारण वैज्ञानिकहरू चिन्तित भएका हुन् र जलवायु परिवर्तन अब सङ्कटमा रूपान्तरण हुन लागेको हो भन्ने उनीहरूको निष्कर्ष आएको छ भन्ने मलाई लाग्छ ।
राष्ट्रपतिज्यूले वातावरणीय सङ्कटको विश्वव्यापी अवस्थालाई गम्भीर र मिहिन ढङ्गले हेरिरहनु भएको छ भन्ने देखिन्छ । ठूलो चिन्ताको विषय त यो छँदैछ । राष्ट्र संघ लगायतका संस्था र अन्य मुलुकहरू यसमा काम गरिरहेका पनि छन् । अब हामीले के गर्नुपर्ला ?
– विश्वव्यापी रूपमा आधा जनसङ्ख्या जलवायु परिवर्तनको चपेटामा परेको छ । यसका कारक तत्त्व मानवीय क्रियाकलाप नै हो । वन विनाश‚ पेट्रोलियम र कोइला जस्ता जीवाश्म इन्धनको प्रयोग, कृषिमा रासायनिक मल र विषादीको अत्यधिक प्रयोग, विकास कार्यमा पर्यावरणीय सन्तुलनलाई प्राथमिकता नदिने काम भइरहेको छ । कार्बन उत्सर्जन बढाउने गतिविधिलाई क्रमश: न्यूनीकरण गर्दै शून्यमा ल्याउन आवश्यक छ । प्रकृतिलाई बिगारेर होइन, सिँगारेर विकास गर्ने चेतना हामीमा आउनुपर्छ ।
-यसको अर्को पक्ष के छ भने नेपाल लगायत कतिपय मुलुकहरू असाध्यै नगण्य मात्रामा मात्रै कार्बन उत्सर्जन गर्छन् । विश्वव्यापी प्रदूषण बढाउन नेपालको योगदान शून्य बराबर छ । तर, जलवायु परिवर्तनबाट धेरै प्रभावित हुने मुलुकमा नेपाल अग्रस्थानमा छ । अर्थात्, हामीले नगरेको गल्तीको सजाय हामीले भोग्नुपरेको छ ।
-तसर्थ हामीले हाम्रो आवाजलाई बलियो बनाउन विश्वका अन्य पर्वतीय मुलुक र टापु राष्ट्रसँग सहकार्य गर्दै जबाफदेहिताको खोजी गर्ने कार्यलाई विश्व मञ्चमा प्राथमिकता दिनुपर्छ ।
वातावरण दिवसका अवसरमा यस वर्षको लागि तय गरिएको विषय केवल एक पृथ्वी अन्तर्गत नयाँ सोच र सिर्जना प्राकृतिक प्रणालीको पुनर्स्थापना रहेको छ । यसमा मानव जीवनको निकै ठूलो सान्दर्भिकता देखिन्छ । यसका बारेमा सम्माननीय ज्यूको धारणा ?
-यसको मूल अभिप्राय विश्व तापक्रम वृद्धिबाट हुने जलवायु परिवर्तनको प्रक्रिया कम गर्दै पृथ्वीको रक्षा गर्नु हो । जनसङ्ख्या बढेपनि हामी पृथ्वीको आकार बढाउन सक्दैनौं । त्यसैले बढ्दो जनसङ्ख्या, शहरीकरण र प्रकृति बीच सन्तुलन र तालमेल मिलाउन हामीलाई नयाँ प्रविधिको आवश्यकता पर्दछ । साथै प्रकृतिमैत्री चिन्तन र विकासको खाँचो छ ।
-कार्बन उत्सर्जन घटाउँदै शून्यमा झार्न नवीकरणीय ऊर्जाको व्यापक प्रयोग हुने उपकरणहरूको आवश्यकता छ । नयाँ सोच र सिर्जनाले मात्रै हामी जीवाष्म ऊर्जाबाट प्रभावकारी नवीकरणीय ऊर्जातिर जान सक्छौँ भन्ने पनि यसको उद्देश्य हो । प्रकृति र मानव बीचको सहकार्यको खोजीलाई यस विषयले प्रतिविम्वित गर्दछ ।
सन् १९७२ मै वन्ली वन अर्थ, केवल एक पृथ्वी विषयका साथ पहिलो पटक मनाइएको विश्व वातावरण दिवस आज सन् २०२२ सम्म आइपुग्दा पुनस् सोही विषयका साथ मनाइँदै छ । आजसम्म यस क्षेत्रमा भएको प्रगतिको समीक्षा कसरी गर्न सकिएला ?
-एक मात्र पृथ्वी भन्ने जुन विषय छ, त्यसको सान्दर्भिकता हिजो भन्दा आज झनै बढेको छ । वातावरणप्रति नागरिक संवेदनशीलता पनि उत्तिकै बढेको छ ।
-जलविद्युतका अतिरिक्त सौर्य ऊर्जा र वायु ऊर्जाका क्षेत्रमा नयाँ प्रविधिहरू आज विकास भएका छन् । हिजो जीवाश्म ऊर्जाको विकल्प थिएन । आज जीवाश्म ऊर्जालाई विस्थापित गर्नुपर्छ र गर्न सकिन्छ भन्ने आत्मविश्वास उत्पन्न भएको छ । विश्वका ठुला प्रदूषक राष्ट्रहरूभित्रै उत्तरदायित्व र जिम्मेवारीको खोजी पनि बढ्दो मात्रामा भइरहेको छ । सबै मुलुकहरूले आफ्ना राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्छ भन्ने पनि आजको विश्व वातावरण दिवसको सन्देश हो ।

कार्बन उत्सर्जन, वन संरक्षण, हिमालको सुरक्षाजस्ता विषयहरूमा निरन्तर राष्ट्रिय र अन्तर्राष्ट्रिय उच्च सम्मेलनहरू हुँदै आएका छन् । नेपाल सरकारले पनि ती कार्यक्रमहरूमा निकै महत्त्वका साथ सहभागिता जनाउँदै आएको छ । यसको प्रभाव कस्तो देख्नु भएको छ ?
-राष्ट्रिय वा अन्तर्राष्ट्रिय सम्मेलनहरूको आफ्नै महत्त्व हुन्छ । राष्ट्रिय प्रतिबद्धता जनाउने, कार्यान्वयनका बारेमा विश्व समुदायलाई अवगत गराउने र अन्य सहभागीबाट जिम्मेवारी खोज्ने कूटनीतिक अवसरका रूपमा जलवायु सम्मेलनहरूले प्रभावकारी भूमिका खेल्दै आएका छन् ।
-तपाईँले भन्नुभए जस्तो एउटा राष्ट्रिय सम्मेलन केही वर्ष पहिले हाम्रो देशका ७५३ वटै स्थानीय तह सहभागी भएर सिन्धुपाल्चोक जिल्लामा सम्पन्न भएको थियो । जलवायु परिवर्तनका मुद्दामा स्थानीय सरोकार स्पष्ट गर्न उक्त सम्मेलन सफल थियो । यस बाहेक सामुदायिक वन उपभोक्ता महासंघ, खानेपानी तथा सरसफाइ लगायतका सम्मेलन पनि हुँदै आएका छन्, जसको वातावरणसँग स्पष्ट सम्बन्ध हुन्छ ।
-अन्तर्राष्ट्रिय स्तरमा संयुक्त राष्ट्र संघले आयोजना गर्ने कोप सम्मेलनको विशिष्ट महत्त्व छ । जलवायु कूटनीतिका लागि हामीले यी सम्मेलनहरूमा सक्रिय सहभागिता जनाउँदै आएका छौँ । क्षेत्रीय स्तरमा हामीले उत्पादन गरेको स्वच्छ ऊर्जा व्यापार गर्ने संरचना स्थापना गर्न सकेमा त्यसले नेपाल सहित अन्य मित्र राष्ट्रहरूलाई पनि न्यून कार्बन उत्सर्जनमा सघाउँछ ।
वातावरणीय न्यायका दृष्टिले पनि हाम्रो नवीकरणीय ऊर्जा खरिद गर्न मित्र राष्ट्रहरूले सङ्कोच राख्नु हुँदैन । छिमेकमा जिवाश्म ऊर्जा निरन्तर प्रयोग हुँदा बढ्ने प्रदूषणबाट हाम्रा हिमालहरू प्रभावित छन् । त्यसैले पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपालले सक्रियतापूर्वक नेपालले यस्ता विषय उठाइरहनु पर्दछ ।
वातावरणमा आएको परिवर्तनको कारण हाम्रो देशले भोग्नुपरेका समस्याका बारेमा यहाँले चर्चा गरिसक्नुभएको छ । यसैको सेरोफेरोमा राष्ट्रपति तराई मधेस चुरे संरक्षण कार्यक्रम पनि सञ्चालन हुँदै आएको छ । यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउन के गर्नुपर्ला ?
-राष्ट्रपति तराई मधेस चुरे संरक्षण कार्यक्रम पर्यावरण सन्तुलन कायम गर्न नेपाल सरकारले अघि सारेका विभिन्न कार्यक्रम मध्ये एउटा हो । यो कार्यक्रम तर्जुमा गर्ने र लागू गर्ने कार्य पनि नेपाल सरकारकै जिम्मेवारीभित्र पर्दछ ।
-यस अन्तर्गत हाल चुरे क्षेत्रको वन विनाश रोक्ने, हरियाली प्रवर्द्धन गर्ने, बालुवा लगायतको अव्यवस्थित उत्खनन रोक्ने, पानीका मूल जोगाउन पोखरी निर्माण गर्ने कार्यहरू भएका छन् ।
-यी कार्यहरूलाई जनताको जीवनसँग जोड्ने र थप राष्ट्रव्यापी अभियानका रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ ।
वातावरण संरक्षण जनतासँग सिधै जोडिने विषय हो । यसबाट विशेष गरी श्रमिक र सीमान्तकृत जनता झन् बढी प्रभावित हुन्छन् । यसमा नेपाली जनता आफैँले होसियारी चाहिँ के के हुन सक्छन् ? जनतासँग सम्माननीय ज्यूको कुनै विशेष आग्रह ?
-वातावरण दिवस केवल आजको दिन मात्र होइन । हामीले वर्षका हरेक दिनलाई प्रकृति, पानी र जैविक विविधताको संरक्षण गर्दै मानव जीवनलाई सुखी बनाउन सकिन्छ भन्ने चिन्तन विकास गर्नुपर्छ ।
-प्राकृतिक असन्तुलन र जलवायु परिवर्तनको कारक तत्त्व हाम्रा आफ्नै गतिविधि हुन् । हाम्रो विकास प्रक्रियामा प्रकृतिलाई हानी नपुग्ने, शैली र निर्माण प्रविधिको प्रयोग गर्नुपर्छ । यसमा स्थानीय सरकारहरूको प्रमुख भूमिका हुने भएकाले नव निर्वाचित स्थानीय जनप्रतिनिधिहरूलाई म प्रकृतिमैत्री विकास अवधारणा बुझ्न र लागू गर्न विशेष आव्हान गर्दछु ।
-जलवायु परिवर्तनले किसानको जीवनमा ल्याएको अनिश्चयलाई सम्बोधन गर्न केन्द्र र प्रदेश सरकारहरूले अनुकूलन प्रविधिमा लगानी बढाउनु पर्दछ । जलविद्युत उत्पादनमा विशेष जोड दिई हाम्रा सडकमा गुड्ने सवारी साधन र जनताको भान्साबाट जीवाष्म ऊर्जालाई पूर्ण विस्थापन गर्नुपर्दछ । जनस्तरबाट नै यी विषयहरू अभियानका रूपमा अगाडि आई कार्यान्वयन हुन सकेमा नेपाल विश्वकै सुन्दर र सफल राष्ट्र बन्नेछ ।








प्रतिक्रिया राख्नुहोस्