जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल, मूल्यवृद्धि नियन्त्रण गर्न सांसदहरूको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा जनताको जनजीविकासँग जोडिएका खाद्यान्न, पेट्रोलियम पदार्थ लगायतका उपभोग्य वस्तुहरूको मूल्यवृद्धि र समायोजन सम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल भएको छ ।
प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले कृत्रिम मूल्य वृद्धि रोक्न बजार अनुगमन गर्नुपर्ने, स्वदेशमा नै उत्पादन बढाउनुपर्ने, मलको अभावमा उत्पादन घट्दै गरेकाले समयमै मल ल्याउनुपर्नेमा जोड दिनुभयो ।
सांसदहरुले मूल्यवृद्धिलाई हल्का रुपमा लिन नहुने, पेट्रोलियम ऐन ल्याउनुपर्ने, नेपाललाई पेट्रोल, डिजेल र ग्याँस मुक्त देश बनाउन आजैबाट काम सुरु गर्नुपर्ने माग राख्नुभयो ।
छलफलमा भाग लिँदै उक्त प्रस्तावका प्रस्तावक नेकपा एमालेका सचेतक विशाल भट्टराईले अर्थतन्त्रका प्रमुख परिसूचकहरूप्रति सरकारले यथेष्ट ध्यान पुर्याउन नसक्दा जनताको जनजीविकासँग जोडिएका खाद्यान्न लगायत अन्य उपभोग्य वस्तुहरूको व्यापक मूल्य वृद्धि भएको बताउनुभयो ।
उहाँले मंहगी नियन्त्रण गर्नुपर्ने, पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा देशभित्रै उत्पादन भएका बस्तुहरूमा भएको मूल्य वृद्धि रोक्न पनि सदनले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
नेकपा एमाले सांसद यज्ञराज सुनुवार र गणेश पहाडीले प्रस्तावको समर्थन गर्दै मूल्यवृद्धिको सिमाअवलोकन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने, मूल्यवृद्धिका कारण निम्न वर्ग र कमजोर आयस्रोत भएका मानिसहरूलाई जीवन जिउन गाह्रो पारेकाले मूल्य वृद्धि फिर्ता गर्नका लागि जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव ल्याइएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्