विश्व स्वच्छ व्यापार दिवस आगामी जेठ १४ र २१ गते नेपालमा मनाइँदै

ललितपुर । विश्व स्वच्छ व्यापार दिवस आगामी जेठ १४ र २१ गते नेपालमा मनाइँदै छ ।
विश्व स्वच्छ व्यापार संगठनको आह्वानमा स्वच्छ व्यवसाय समूह नेपाल (एफटिजिएन) को अगुवाइमा नेपालमा विश्व स्वच्छ व्यापार दिवस मनाउन लागिएको हो ।
विश्व स्वच्छ व्यापार दिवस हरेक वर्ष मे महिनाको दोस्रो शनिबार विश्वभर मनाइन्छ ।
यस वर्ष मे १४ मा विश्व स्वच्छ व्यापार दिवस विश्वभर मनाइए पनि स्थानीय तहको निर्वाचनका कारण नेपालमा मनाउन सकिएको थिएन ।
बिहीबार ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै, एफटिजिएनका अध्यक्ष डा सुनिल चित्रकारले विश्व स्वच्छ व्यापार दिवस २०२२ मे १४ मा “जलवायु न्याय” भन्ने नाराका साथ मनाइएको जानकारी दिनुभयो ।
नेपालमा विश्व स्वच्छ व्यापार दिवसको अवसरमा जेठ १४ गते प्रभातफेरी तथा जेठ २१ गते मा व्यापार मेला तथा प्रदर्शनी आयोजना गरिने चित्रकारले जानकारी दिनुभयाे ।
बिहान ७ बजे भृकुटीमण्डपबाट सुरु हुने प्रभातफेरी रत्नपार्क, भोटाहिटी, बांगेमुडा, भेडासिंह, इन्द्रचोक, मखन हुँदै वसन्तपुर दरबार चोकमा समापन हुने तथा प्रभातफेरी एक हजारभन्दा बढी सदस्य सङ्घसंस्था, साझेदार र सरोकारवालाको सहभागिता रहने आयोजकले जानकारी दिए।
जेठ २१ गते पुलचोक स्थित याक प्यालेसमा व्यापार मेला तथा प्रदर्शनीको आयोजना हुने जसमा हस्तकला, कृषिजन्य खाद्यान्न लगायत उत्पादनको प्रदर्शनी गरिने चित्रकारले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्