तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाका आठ स्थानीय तहलाई दुई अर्ब २९ करोड अनुदान

जुम्ला  । सङ्घीय सरकारले आगामी आव २०७९/०८० का लागि कर्णाली प्रदेशको जुम्ला जिल्लाका आठ स्थानीय तहलाई झण्डै २ अर्ब २९ करोड विनियोजन गरेको छ । 

आइतबार सार्वजनिक भएको बजेट अनुसार जुम्लाका ८ पालिकालाई विभिन्न चार अनुदानका शीर्षकबाट २ अर्ब २९ करोड ९० लाख बजेट विनियोजन गरेको हो । 

समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी चार वटा शीर्षकबाट स्थानीय तहलाई वित्तीय हस्तान्तरण गरिएको हो । 

जसमा चारबाटै शीर्षकबाट गरी जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकालाई ३८ करोड २१ लाख अनुदान आएको छ भने कनकासुन्दरी गाउँपालिकामा ३० करोड ८७ लाख, गुठिचौर मा २० करोड १३ लाख,तातोपानी गाउँपालिकाका लागि २९ करोड १९ लाख बजेट विनियोजन भएको छ  । 

त्यस्तै, तिला गाउँपालिकामा आगामी आवका लागि ३२ करोड ३५ लाख, पातारासी गाउँपालिकामा २७ करोड ५१ लाख,सिंजा गाउँपालिकामा २६ करोड २८ लाख र हिमा गाउँपालिकाका लागि २५ करोड ३६ लाख गरी जुम्लाका आठ स्थानीय तहमा २ अर्ब २९ करोड ९० लाख बजेट विनियोजन भएको अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको बजेट वक्तव्यमा उल्लेख छ ।  

आगामी आवका लागि समग्रमा जुम्ला जिल्लाका लागि समानीकरण अनुदान तर्फ ८० करोड ९३ लाख,सशर्त अनुदान तर्फ १ अर्ब ३२ करोड ८३ लाख,विशेष अनुदान तर्फ ८ करोड २६ लाख र समपूरक अनुदानतर्फ ७ करोड ८८ लाख विनियोजन भएको छ । जसमध्ये चालुतर्फ २ अर्ब १ करोड ७४ लाख र पुँजीगत तर्फ २८ करोड १६ लाख छुटाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button