तपाईँ सुन्दै हुनुहुन्छः

सेनले खेलेको भूमिका उच्च र अतुलनीय : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले कृष्ण सेन “इच्छुक”को बलिदानीले पार्टीमा ठूलो क्षति पुगेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपालद्वारा आज आयोजित कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि दाहालले जनपक्षीय पत्रकारिता, प्रगतिवादी सांस्कृतिक आन्दोलनमा सेनले खेलेको भूमिका उच्च र अतुलनीय रहेको बताउनु भयो । 

सेनको आदर्श, नैतिक बल र वर्गप्रतिको निष्ठाले जो कसैलाई पनि नतमस्तक बनाउने भन्दै अध्यक्ष प्रचण्डले सेनको बलिदानीले पार्टी, क्रान्ति र समग्र आन्दोलनलाई अपूरणीय क्षति पुर्‍याएको बताउनु भयो ।

सो अवसरमा प्राध्यापक गोपिन्द्र पौडेल र पत्रकार गोविन्द आचार्यले कृष्ण सेन इच्छुकको जनपक्षीय पत्रकारिता र प्रगतिवादी सांस्कृतिक आन्दोलनमा रहेको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । 

त्यस्तै, नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकारिता क्षेत्रमा सेनको योगदान र बलिदानका बारेमा बोल्नुभएको थियो । 

जनसाँस्कृतिक महासङ्घ, नेपालका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा भएको समारोहको सञ्चालन प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले गर्नुभएको थियो ।

कार्यक्रममा कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट २ जनालाई र शक्ति–तारा स्मृति पुरस्कारबाट २ जना गरी चार जना पत्रकारलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button