तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक : नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम माथिको पहिलो दिनको छलफल सकिएको छ  ।

राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले “राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०७९/०८० को लागि नेपाल सरकारको नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस्” भन्ने प्रस्ताव पेस गरे सँगै छलफल  सुरु भएको थियो । 

बैठकमा आर्थिक वर्ष २०७९/०८० का नीति तथा कार्यक्रम माथि ५ जना  सांसदहरुले संयुक्त रुपमा ३ वटा संशोधन प्रस्ताव राख्नुभएको छ ।

संशोधनको प्रस्ताव राख्नेमा सांसद डा विमला राई (पौड्याल), लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शेखरकुमार सिंह, नेकपा (एमाले) का सांसदहरू भगवती न्यौपाने, भैरव सुन्दर श्रेष्ठ र विमला घिमिरे हुनुहुन्छ ।

डा. राई र पौडेलले बुँदा नम्बर २६ मा संशोधन प्रस्ताव राख्दै प्राङ्गारिक मलमा अनुदानसहित सातै प्रदेशमा प्राङ्गारिक मल कारखाना खोलिने र रासायनिक मलमा अनुदान हटाई आपूर्ति सहज गरी प्राङ्गारिक मलमा अनुदान बढाउने उल्लेख गर्नभयो ।

यस्तै सांसद सिंहले बुँदा नं १०८ मा संशोधन प्रस्ताव प्रस्तुत गर्दै डडेलधुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइने भन्ने उल्लेख गरिएकोमा सोही बुँदामा सप्तरीको राजविराजमा पनि रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने वाक्य थप गर्न माग गर्नुभयो ।

एमालेका सांसदहरू न्यौपाने, श्रेष्ठ र घिमिरेले संयुक्त रुपमा पाँच बुँदा (१५, १७, ४३, ७२ र ७९) माथि संशोधन प्रस्ताव पेस गर्नुभयो । 

उहाँहरूले वित्तीय हस्तान्तरणको विषय विरोधाभासपूर्ण भएको, पूर्ववर्ती आयोजना अलपत्र पार्ने गरी आएको, स्वच्छ खानेपानी उपलब्ध गराउने कुरा र बूढीगण्डकी आयोजना तथा सरकारले पूरा गर्नुपर्ने योजना निजी क्षेत्रलाई जिम्मा दिने कुरा सान्दर्भिक नभएको बताउनुभयो  । 

बैठकमा प्रतिपक्षी दलका सांसदहरुले सरकारको नीति तथा कार्यक्रम महत्त्वाकाङ्क्षी र सस्तो लोकप्रियताका लागि ल्याइएको आरोप लगाउनुभयो । 

सांसदहरुले देशको आर्थिक अवस्थालाई नजर अन्दाज गरी नीति तथा कार्यक्रम आएको भन्दै व्यवहारिक कार्यान्वयनमा जटिलता रहेको उल्लेख गर्नुभयो ।

यस्तै बैठकमा सत्ता पक्षका सांसदहरुले सरकारको नीति तथा कार्यक्रम विगतमा जस्तो सपना बाँड्ने प्रवृत्तिलाई चिर्ने गरी बस्तुगत धरातलबाट आएको धारणा राख्नुभयो  ।

बैठकमा सांसद डा. बेदुराम भुसालले  आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा उत्पादनशील र रोजगारीमूलक क्षेत्रमा कर्जा प्रवाह सहज बनाउने, पूर्वाधार निर्माण, उत्पादन वृद्धि, उत्पादकत्वमा जोड, सङ्घीयताको सुदृढीकरण र सुशासनलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

त्यस्तै, सांसद भुसालले नीति तथा कार्यक्रममा उल्लेख गरिएका कृषि, यातायात, ऊर्जा, पर्यटन, सूचना प्रविधिलाई अगाडि बढाइ उत्थानशील अर्थतन्त्र, निर्माण गर्दै मुद्रास्फीति वाञ्छित सीमाभित्र राख्ने कुरा सकारात्मक रहेको बताउनुभयो ।    

सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम माथि सांसदहरुले बोल्ने क्रम नसकिएकाले छलफलले फेरी निरन्तरता पाउनेछ ।

राष्ट्रिय सभाको अर्को बैठक यही जेठ १३ गते (भोलि) बिहान ११ः०० बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button