दैनिकीसँग जोडिएका समस्या प्राथमिकतामा: नवनिर्वाचित नगर प्रमुख सिंह
बीरगंज । वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख राजेशमान सिंहले वीरगन्जवासीका दैनिकीसँग जोडिएका समस्या समाधान गर्नु आफ्नो प्राथमिकता भएको बताउनुभएको छ ।
रेडियो नेपालसँग संक्षिप्त कुरा गर्दै उहाँले कर, स्वास्थ्य र शिक्षाको विषयमा विज्ञहरूसँग बसेर छलफल गरी नगर क्षेत्रमा देखिएका समस्याको तत्काल समाधान गर्ने बताउनुभयो ।

मेयर सिंहले वीरगन्जमा सरसफाइको चुनौती रहेको उल्लेख गर्दै वर्षाको समयमा पानी जम्ने समस्या समाधान गरिने बताउनुभयो ।
वीरगञ्ज महानगरपालिकामा ३२ वटा वडा रहेका छन् । जसमध्ये १३ वटा वडामा जसपा, ९ वडामा नेपाली कांग्रेस, ८ वडामा एमाले र २ वडामा लोसपाले जित हासिल गरेका छन् ।
निर्वाचित भएसँगै प्रमाणपत्र बुझेर मतगणना स्थलबाट बाहिरिने क्रममा सिंहलाई हजारौँको सङ्ख्यामा उपस्थित समर्थकहरूले नगर परिक्रमा गराएका थिए ।

पाँच दलीय गठबन्धनले संयुक्त रुपमा विजयी र्याली भने जेठ ११ गते वीरगन्जमा निकाल्ने भएको छ ।
जेठ १२ गते वीरगन्जको आर्दशनगरस्थित पुरानो बसपार्क मैदानमा सिंहको शपथ ग्रहण कार्यक्रमको आयोजना गरिने भएको छ ।
कार्यक्रममा जसपाका नेता बाबुराम भट्टराई लगायतका शीर्ष नेताहरूको सहभागिता रहने जनाइएको छ ।
शपथ ग्रहणसँगै सिंहले सोही दिन महानगरपालिकाको कार्यालयमा पुगेर कार्यभार सम्हाल्ने जनाइएको छ ।







प्रतिक्रिया राख्नुहोस्