तपाईँ सुन्दै हुनुहुन्छः

सूर्योदयमा समाजवादीका राई र उपप्रमुखमा काँग्रेसका बराल निर्वाचित

मङ्गलबारे। इलामको सूर्योदय नगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का रणबादुर राई (आरबी) विजयी हुनुभएको छ ।

उहाँले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार काजीमान कागतेलाई एक हजार ८५२ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । काजीमानले १० हजार ५७९ मत ल्याउनुभएको छ । राईले १२ हजार ४३१ मत पाउनुभएको छ । उहाँ गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको थियो । राई यसअघिसमेत यस नगरपालिकाको प्रमुखमा हुनुहुन्थ्यो ।

उपप्रमुख पदमा पनि गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार दुर्गाकुमार बराल विजयी बन्नुभएको छ । उहाँ ११ हजार ८५४ मतसहित विजयी हुनुभएको छ । उहाँकी निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार दुर्गादेवी भट्टराईले नौ हजार १२२ मत ल्याउनुभएको छ । भट्टराई निवर्तमान नगर उपप्रमुखसमेत हुनुहुन्छ । १४ वटा वडा रहेको यो नगरपालिका जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह हो । यस पालिकाको मत परिणाम सार्वजनिक भएसँगै जिल्लाका सबै पालिकाको मतगणना सम्पन्न भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button