तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको बैठक : विनियोजन विद्येयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल  

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आज पनि आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल भएको छ । 

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै सांसदहरुले मुलुकको आर्थिक विकासका लागि मंहगी नियन्त्रण तथा रोजगारी सृजना गर्न सरकारले ठोस कार्यक्रम ल्याई त्यसको तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपाली काँग्रेसका सांसद मिनेन्द्र रिजालले मुलुकको अर्थतन्त्रमा आएको समस्याको सबै दल मिलेर गम्भीर छलफल गर्नुपर्ने भन्नुहुँदै  ३ सय ३० अर्बको खाद्यान्न नेपालमा आयत भइरहेकाले खाद्यान्नको उत्पादन मुलुकमै बढाउने विषयमा अहिलेसम्म छलफल समेत नभएको टिप्पणी गर्नुभयो । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद भीम बहादुर रावलले पुँजीगत खर्च बढाउन ठोस नीति ल्याउनुपर्ने, विदेशी मुद्रा आर्जन गर्नेबारे स्पष्ट दृष्टिकोण सरकारसँग हुनुपर्ने बताउनुभयो । 

नेकपा माओवादी केन्द्रका सांसद शक्ति बहादुर बस्नेतले राजनीतिक व्यवस्था बदलेपनि आर्थिक तथा वित्तीय व्यवस्था पुरानै भएको भन्नुहुँदै सेवा क्षेत्र सामाजिक दायित्वबाट पन्छिँदै नाफामुखी बन्दै गइरहेको बताउनुभयो । 

प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादनमा वृद्धि, रोजगारीमा वृद्धि, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा महत्त्वका साथ अबको बजेटले समेट्दै कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो  । 

प्रतिनिधिसभाको बैठक जारी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button