सप्तरीमा काङ्ग्रेसकी गीता चौधरी पहिलो महिला नगर प्रमुख

सप्तरी । सप्तरी जिल्लामा गीता चौधरी पहिलो महिला नगर प्रमुख बन्नुभएको छ ।
सप्तरीको सुरुङगा नगरपालिकामा नेपाली काङ्ग्रेसबाट गीता चौधरी पहिलो नगर प्रमुख बन्नुभएको हो । चौधरी तीन हजार ७५ मत अन्तरले निर्वाचित हुँदै नगर प्रमुख बन्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
नगर प्रमुखकी उम्मेदवार चौधरीले ७ हजार २९२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका राम नारायण चौधरी ४ हजार ११७ मत तथा जनता समाजवादीका साबीर अलीले ३ हजार ६६८ मत मात्र प्राप्त गर्नुभएको छ ।
त्यसैगरी नगर उपप्रमुखमा काँग्रेसकै रुद्र बहादुर कार्की विजय हुनु भएको छ । उहाँ पनि सप्तरीबाट निर्वाचित हुने पहिलो पुरुष उपप्रमुख हुनुहुन्छ ।
उपप्रमुख कार्कीले ६ हजार २७५ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिस्पर्धी एमालेकी सलीम कुमारी पासवानले २ हजार १०३ मत, माओवादी केन्द्रका शिव कुमार रामले २ हजार ४६७ र एकीकृत समाजवादीकी सुनिता कुमारी मुखियाले ३ हजार ९९८ मत प्राप्त गर्नुभयो ।
वार्डहरूमा विजयी उम्मेदवारहरू वडा नम्बर १ मा नेकपा एसका राज कुमार राउत, वडा नम्बर २ मा माओवादी केन्द्रका अर्जुन राज खपाङ्गि, वडा नम्बर ३ मा नेकपा एसका किरण पोखरेल, वडा नम्बर ४ मा नेकपा एसका देवेन्द्र प्रसाद चौधरी, वडा नम्बर ५ मा नेकपा एसका दिलाराम चौधरी, वडा नम्बर ६ मा माओवादी केन्द्रका दिनेश राम, वडा नम्बर ७ मा नेपाली काँग्रेसका शिव नारायण चौधरी, वडा नम्बर ८ मा नेपाली काँग्रेसका श्याम प्रसाद साह, वडा नम्बर ९ मा जसपाका सन्त कुमार यादव, वडा नम्बर १० मा जसपाका चन्द्र नारायण यादव र वडा नम्बर ११ मा जसपाका राम कुमार चौधरी विजयी भएका छन् ।
सप्तरीमा हालसम्म घोषित १० स्थानीय तहको परिणाम अनुसार काँग्रेसले ४, एमालेले २, जसपा, लोसपा, जनमत, नेकपा (एकिकृत समाजवादी) ले १/१ स्थानीय तहमा जित हासिल गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्