तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङको जैमिनिमा राष्ट्रिय जनमोर्चाका पुन विजयी

बागलुङ।बागलुङको जैमिनि नगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका नर बहादुर पुन भारीमतले निर्वाचित हुनुभएको छ। पुनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लीला रानालाई ५ हजार ८ सय ७२ मतान्तरले हराउँदै नगरप्रमुखमा निर्वाचित हुनुभएको हो। पुनले ८ हजार ७ सय ५५ मत प्राप्त गर्नुभएको छ भने रानाले २ हजार ८ सय ७३ मत प्राप्त गर्नुभएको छ।

उपप्रमुखमा पनि गठबन्धनकै नेपाली काँग्रेसका हरिहर शर्मा निर्वाचित हुनुभएको छ। उहाँले ६ हजार ५ सय ३७ मतान्तरले उपप्रमुखमा निर्वाचित भएका हुन्। शर्माले ९ हजार १ सय ७३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उषा पौडेलले २ हजार ६ सय ३६ मत प्राप्त गर्नुभएको छ। नगरपालिकामा नेपाली काँग्रेसले वडा नं. १ कुश्मीसेरा, २ दमेक, ३ बिनामारे, ७ जैदी र ८ छिस्ती गरि पाँच वटा वडा अध्यक्ष जित हासिल गरेको छ भने माओवादी केन्द्रले वडा नं. ३ दमेक र वडा नं. ६ अर्जेवा जित हासिल गरेको छ। त्यस्तै राष्ट्रिय जनमोर्चाले वडा नं. १० राङखानी र नेकपा एमालेले वडा नं. ९ मा जित हासिल गरेको छ।

बागलुङमा अझै बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको पूर्ण नतिजा आउन बाँकी छ। मतगणना भइरहेका पालिकामा सत्ता गठबन्धन अग्रस्थानमा छ भने नेकपा एमालेले पछ्याइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button