तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती सोनारीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । 

अध्यक्ष पदका उम्मेदवार तप्तबहादुर पौडेलले १० हजार ११२ र उपाध्यक्षमा मनिषासिंह थारुले १० हजार १३४ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत टोपेन्द्र केसीले जानकारी दिनुभयो । 

पौडेलका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका पट्टु थारुले ९ हजार २९२ र नेकपा एमालेका रामदास थारुले ९ हजार १४० मत पाउनुभएको थियो । थारुकी निकटतम प्रतिस्पर्धी  एमालेकी चमेली बागवलले ९ हजार ३४१ मत पाउँदा माओवादी केन्द्रकी मञ्जु रोकायाले ८ हजार ७९३ मत पाउनुभएको थियो । 

सो पालिकामा नेकपा एमालेले पाँच, राप्रपा एक, र माओवादी केन्द्रले तीन वडामा जीत हासिल गरेको छ । पालिकमा ३२ हजार ९६७ खसेको मतमा करिब सात प्रतिशत मत अध्यक्ष र उपाध्यक्षमा बदर भएको निर्वाचन अधिकृत केसीले जानकारी दिनुभयो । 

जानकी र बैजानाथमा मतगणना रोकियो बाँकेको जानकी गाउँपालिका र बैजनाथ गाउँपालिकामा मतगणना कार्य रोकिएको छ । 

जानकी गाउँपालिकामा मतगणनामा खटिएका कर्मचारीले मत परिणाम लुकाएको भन्दै विवाद भएको थियो । सो गाउँपालिकाका निर्वाचन अधिकृत वासुदेव शर्माले मतगणनामा विवाद भएकाले केही बेरदेखि मतगणना रोकिएको जानकारी दिनुभयो । 

त्यस्तै वैजनाथ गाउँपालिकामा पनि मतगणनामा विवाद भएकाले रोकिएको जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button