महोत्तरीका दुई मतदान केन्द्र महिला कर्मचारीको नेतृत्वमा सञ्चालन हुने
बर्दिबास । महोत्तरीको दुई मतदान केन्द्र महिला कर्मचारीहरूको नेतृत्वमा सञ्चालन हुने भएका छन् ।
बर्दिबास र जलेश्वर नगरपालिकाको केन्द्रमा महिलालाई मात्र नेतृत्व दिई सञ्चालन गर्न लागिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय महोत्तरीले जनाएको छ ।

बर्दिबास २ जनता मावि केन्द्रका मतदान अधिकृत रमा शर्मा ढकालसहितको महिला कर्मचारीको टोली र जलेश्वरको महेन्द्र आदर्श महिला माध्यमिक विद्यालयमा रहेको केन्द्रको नेतृत्व अधिकृत पुनम श्रेष्ठले गर्ने कार्यालयले जनाएको छ ।
बर्दिबासको जनता मावि केन्द्रमा सुरक्षाकर्मी समेत महिला नै परिचालन गरिएको निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले जानकारी दिनुभयो । कार्यालयका कर्मचारी ७ जना र सुरक्षाकर्मी ५ जना सबै महिला मात्रै केन्द्रमा खटाइएको सापकोटाले बताउनुभयो ।
सक्षम महिलालाई अवसर दिएर केही फरक गरौँ भन्ने उद्देश्यका साथ महिलामैत्री केन्द्र बनाइएको सापकोटाले बताउनुभयो ।
महोत्तरीका ४ सय ९७ केन्द्रमध्ये ३१ केन्द्रमा महिलाले नेतृत्व गर्दै छन् भने २ वटा केन्द्र महिलाले मात्रै चलाउने भएका हुन् । बर्दिबास नगरपालिकामा ५७ वटा मतदान केन्द्र रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्