बैतडीका ५ पत्रकार चुनाव लड्दै

बैतडी । आसन्न वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा बैतडीका ५ पत्रकार पनि भिड्ने भएका छन् ।
जसमा पत्रकार महासङ्घ बैतडीका निवर्तमान अध्यक्ष प्रेमसिंह भाट पाटन नगरपालिका वडा न.९मा वडा सदस्यका उम्मेदवार बनेका छन् । भाट नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न गोलाकार भित्रको हँसिया हथौडाबाट चुनाव लडिरहेका हुन् ।
यसैगरी उज्यालो अनलाइनका संवाददाता तपेन्द्र विष्ट मेलौली नगरपालिका वडा न. ८ मा वडाध्यक्षका उम्मेदवार बनेका छन् । उनी नेकपा (एमाले) को चुनाव चिह्न सूर्यबाट चुनाव लड्न लागेका हुन् । विष्ट नेकपा (एमाले) को बैतडी काठमाडौँ सम्पर्क मञ्चका सह–सचिव समेत हुन् । उनी २२ वर्षको उमेरमै वडाध्यक्षमा चुनाव लड्न लागेका हुन् ।
प्रेस युनियन बैतडीका कोषाध्यक्ष धन बहादुर क्षेत्री (जगदीश) दशरथचन्द नगरपालिका वडा न. ३ मा वडा अध्यक्षका उम्मेदवार बनेका छन् । क्षेत्री नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बनेका हुन् । यसअघि उनका बुवा दाम बहादुर क्षेत्रीले वडा अध्यक्षमा चुनाव जितेका थिए ।
दशरथचन्द नगरपालिका कै वडा न. ९ ग्वाल्लेकमा पत्रकार चन्द्रमुस्कान जोशीले उम्मेदवार दिएका छन् । रेडियो शनसेर बैतडीमा कार्यरत जोशीले नेकपा एकिकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएका हुन् ।
यसैगरी नेकपा(एकिकृत समाजवादी)कै तर्फबाट मेलौली नगरपालिका वडा न.२ मा पत्रकार सेर बहादुर चन्द वडा अध्यक्षका उम्मेदवार बनेका छन् । चन्द प्रेस चौतारीका पूर्व जिल्ला अध्यक्ष समेत हुन् । अहिले उनी नेकपा(एस) पार्टीमा आबद्ध रहेका छन् ।
बैतडीमा चुनाव लडेका ५ जना नै अहिले आ–आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसार गरिरहेका छन् । यसअघि समेत बैतडीका ३जना पत्रकार जनप्रतिनिधि बनेका थिए ।








प्रतिक्रिया राख्नुहोस्